केन्द्रीय बैंकद्वारा दुई महिनामा करिव ६७ खर्ब बढी तरलता प्रशोचन
काठमाडौं, ६ कार्तिक । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा करिव ६७ खर्ब बढी तरलता प्रशोचन गरेको छ ।केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत बैंकले साउन र भदौमा ६६ खर्ब ९५ अर्ब १५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको हो ।
निक्षेप संकलन बोलकबोलमार्फत ४ खर्ब २४ अर्ब ७५ करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत ६२ खर्ब ७० अर्ब ४० करोड रुपैयाँ गरी कुल ६६ खर्ब ९५ अर्ब १५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको केन्द्रीय बैंकद्वारा जारी प्रतिवदेनमा उल्लेख गरिएको छ ।
बैंकले गत वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधा लगायतका उपकरणहरुमार्फत खुद ३ खर्ब ६२ अर्ब ३६ करोड तरलता प्रवाह गरेको थियो ।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ८३ करोड ४७ लाख खुद खरिद गरी १ खर्ब ११ अर्ब ९७ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ७७ करोड ७८ लाख खुद खरिद गरी १ खर्ब २ अर्ब ८७ करोड रुपैयाँ तरलता प्रवाह भएको थियो ।