जनकपुर–जयनगर रेलमार्गमा पुसदेखि रेल सञ्चालनको तयारी

काठमाडौ, २८ असार । निर्माण कार्य अन्तिम चरणमा पुगेको जनकपुर – जयनगर ३५ किमी ब्रोडगेज रेलमार्गमा आगामी पुसबाट रेल संचालनको तयारी गरिएको छ ।
नेपाल र भारतका रेल अधिकारीबीच दुई दिनसम्म भएको छलफलमा जनकपुर–जयनगर ३५ किमी ब्रोडगेज रेलमार्ग यसै वर्ष कात्तिकमा पूरा हुने भएकाले प्राविधिक जाँच गरी पुसदेखि नै रेल सञ्चालन गर्ने विषयमा वार्ता भएको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिनुभयो । विराटनगर, जनकपुर, वीरगञ्ज, नेपालगन्ज र भैरहवासम्म सामान ढुवानी गर्ने रेल ल्याउने विषयमा छलफल भएको थियो ।
नेपालसँग ब्रोडगेजमा रेल चलाएको अनुभव नभएकाले एक वर्ष भारतीय कम्पनीको रेल लिजमा चलाई नेपालीलाई प्राविधिक ज्ञान हुने गरी तालीम दिने विषयमा पनि छलफल भएको छ । विभागसँग रेल खरीदका लागि ५० करोड रुपैया बजेट भए पनि प्रक्रिया पु¥याएर खरीद गर्दा एक वर्ष समय लाग्छ । त्यतिन्जेल लिजमा लिएर ३५ किलो मीटरमा रेल चलाउने विभागले जनाएको छ ।
भारतसँग सीमा जोडिएका पाँच वटा नाकालाई रेलमार्गले जोड्ने विषयमा नेपाल र भारतका रेल अधिकारीबीच भएको छलफलले प्राविधिक सहयोगको व्यवस्था गर्न दुवै देशका सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको छ ।।