नेपाल बैंकर्स संघको ३८ औं वार्षिक साधारणसभा बुधबार, अध्यक्षमा कोइराला सर्वसम्मत
काठमाडौं, २ पुस । बुधबार (पुस ३ गते) नेपाल बैंकर्स संघकाे ३८ औं वार्षिक साधारणसभा हुँदैछ । उक्त साधारण सभाले अध्यक्ष र उपाध्यक्षसहित ३ जना सदस्य चयन गर्नेछ ।
त्यसका लगि साेमबार अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्ताेष काेइराला र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उम्मेदवारी दर्ता गराएका थिए ।
तर, सोमबार बसेको संघका पूर्व अध्यक्षहरूको बैठकले सर्वसम्मत पदाधिकारी चयन गर्ने निर्णय गरेपछि शेरचनलाई उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो । शेरचनको दाबेदारी फिर्ता भएपछि कोइराला सर्वसम्मत रूपमा अध्यक्ष चयन हुने भएका छन् ।
पछिल्लो १३ वर्षयता संघमा उपाध्यक्ष स्वतः अध्यक्ष बन्दै आएका छन् । तर, यसपटक भने दुई जनाको उम्मेदवारी परेको थियो ।
यस्तै, संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेम्मी चयन हुने भएका छन् ।
खाली रहेको तीन जना कार्यसमिति सदस्यमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालीङ चुनिने भएका छन् ।