पाँच महिनामा ८ अर्ब १५ करोड भारुकाे १ अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात
काठमाडाैं, ७ पुस । चालू आर्थिक वर्षकाे ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।नेपाल विद्युत् प्राधिकरणले साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको हाे ।
चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ ।भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी ८ अर्ब १५ करोड भारु आम्दानी गरेको छ ।
साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएकोमा भदौमा ३ अर्ब ६८ करोड, असोजमा ३ अर्ब ७ करोड र कात्तिकमा १ अर्ब ८७ करोड र मङ्सिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको प्राधिकरणले जनाएकाे छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।