सन् २०२४ मा नेपाल भ्रमण: ११ लाख ४७ हजार पर्यटकको आगमन, १४ प्रतिशतले वृद्धि
काठमाडाैं, १८ पुस । अंग्रेजी वर्ष सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटन विभागकाे तथ्यांक अनुसार गत वर्ष ११ लाख ४७ हजार ५ सय ६७ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।
सन् २०२३ काे तुलनामा नेपाल आउने विदेशी पर्यटककाे संख्या १४ प्रतिशतले बढेकाे हाे । सन् २०२३ मा १० लाख १४ हजार ८ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
सन् २०१९ मा ११ लाख ४७ हजार २१९ जना विदेशी पर्यटक नेपाल आएका थिए । काेराेना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेकाे याे पहिलाे वर्ष हाे । बाेर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर ३ हजार पर्यटक भ्रमणमा आएकाे बताए ।
सार्क क्षेत्रबाट आगन्तुकहरूको संख्या ५.९ प्रतिशतले वृद्धि हुँदै ४ लाख १७ हजार ८४५ पुगेको छ । बङ्गलादेश, भुटान र श्रीलङ्काबाट आउने आगन्तुकहरूको संख्या क्रमशः ३३.९५ प्रतिशत, ४२ प्रतिशत र ३८.३५ प्रतिशत ले वृद्धि भएको छ । यद्यपि, भारतबाट आउने आगन्तुकहरूको संख्या ०.७ प्रतिशतले घट्दै ३ लाख १७ हजार ७७२ मा झरेको छ।
एशियाली मुलुकहरूबाट पनि उल्लेखनीय वृद्धि भएको देखिन्छ । चीनबाट १ लाख १ हजार ८७९ आगन्तुकहरू नेपाल आएका छन्, जसले २०२३ को तुलनामा ६७.३ प्रतिशतको वृद्धि देखाएको छ । त्यस्तै, थाइल्याण्ड, जापान, र दक्षिण कोरियाबाट आउने आगन्तुकहरूको संख्या क्रमशः १९.७५ प्रतिशत, ३८ प्रतिशत र १४ प्रतिशतले वृद्धि भएको छ । युरोपेली देशहरूबाट पनि आगन्तुकहरूको आगमनमा सकारात्मक वृद्धि देखिएको छ।
संयुक्त अधिराज्य, जर्मनी, फ्रान्स, इटाली, स्पेन, र नेदरल्याण्डबाट आगन्तुकहरूको आगमन क्रमशः ८.९ प्रतिशत, १०.५ प्रतिशत, ८.५ प्रतिशत, ११.८प्रतिशत, १२.७ प्रतिशत र ६.३ प्रतिशतले वृद्धि भएको छ । कुल युरोपेली आगन्तुकहरूको संख्या २ लाख ६ हजार ८४१ पुगेको छ, जसले १०.४ प्रतिशतको वृद्धिलाई प्रतिनिधित्व गर्दछ। यता अमेरिकी महादेशबाट पनि नेपाल आउने आगन्तुकहरूको संख्या वृद्धि भएको । अमेरिकाबाट १ लाख ११हजार २१६ अर्थात १०.८ प्रतिशत र क्यानडाबाट १६ हजार ७४ अर्थात ९.४ प्रतिशत आगन्तुकहरूले नेपाल भ्रमण गरेका छन् ।
ओसियानियामा, अष्ट्रेलियाबाट ४३ हजार ९८० अर्थात १३.४ प्रतिशत र न्युजिल्यान्डबाट ४ हजार २३१ अर्थात १८.४ प्रतिशत आगन्तुकहरू आएका छन् । नेपालका विभिन्न क्षेत्रहरूमा भएका पर्यटकीय गतिविधिहरूले यस वृद्धिमा महत्वपूर्ण भूमिका खेलेका छन् । सन् २०२४ को यो सफलताले नेपालमा पर्यटन क्षेत्रले अझै ठूलो सम्भावना रहेको प्रमाणित गरेको छ।
सबैभन्दा धेरै पर्यटक भारत, चीन, अमेरिका, र युरोपेली देशहरूबाट आएका थिए। अन्नपूर्ण पदमार्ग, सगरमाथा क्षेत्र, पोखरा, र काठमाडौँ उपत्यका प्रमुख गन्तव्य बने। साथै, धार्मिक पर्यटनको रूपमा पशुपतिनाथ मन्दिर, लुम्बिनी, र मुक्तिनाथले पनि पर्यटकहरूलाई आकर्षित गरे।
सरकारले आगामी वर्षमा पर्यटकको संख्या १५ लाख पुर्याउने लक्ष्य राखेको छ।