माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडाैं, २९ पुस । माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा मिति २०८१ साल पौष २८ गते (तदनुसार जनवरी १२, २०२५), आइतबार होटल पोखरा ग्राण्ड, पोखरामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिबेदन पारित गर्दै सम्पन्न भएको छ । उक्त साधारण सभाले जय मुकुन्द खनाल, मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठ लाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेका छ ।
बैंक सञ्चालक जय मुकुन्द खनाल ज्यूले स्वागत मन्तव्य राख्नु भएको उक्त सभामा अर्का सञ्चालक मुकुन्द महत ज्यूले जि.पि.राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव गर्नुभएको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।
उक्त साधारणसभामा बोल्दै बैंकका अध्यक्ष रोशन के.सीले प्रविधिको विकास संगसंगै यसमा देखा परेका चुनौतीहरुलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न नयाँ नयाँ प्रविधिहरुलाई आत्मसात् गर्दै आएको र समग्र देशको आर्थिक स्थितिलाई मजबूत बनाउन यथासक्य योगदान पुर्याउने उद्धेश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नविकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बैंक अगाडी बढिरहेको जानकारी गराए ।
त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङ्गमा जोड दिईरहेको र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिहेको बताए ।
उक्त साधारण सभामा बैंकको संस्थापक शेयरधनी को तर्फबाट पूर्व बन तथा वातावरण मन्त्री डा. विरेन्द्र महतो एंव समाजसेवी प्रेमकुमारी के.सीले पनि सहभागिता जनाउनु भएको थियो भने अन्य संस्थापक एंव साधारण शेयरधनिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।