Date

बिहि, माघ २४, २०८१
Thu, February 6, 2025

आइक्यानकाे २८ औं वार्षिकाेत्सवः कर प्रणाली सुधार र राजश्व वृद्धिमा चार्टर्ड एकाउन्टेन्टहरुको महत्वपूर्ण सहकार्यको अपेक्षा

आइक्यानकाे २८ औं वार्षिकाेत्सवः कर प्रणाली सुधार र राजश्व वृद्धिमा चार्टर्ड एकाउन्टेन्टहरुको महत्वपूर्ण सहकार्यको अपेक्षा

काठमाडाैं, १८ माघ । नेपालमा लेखासम्बन्धी पेशा तथा शिक्षाको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) २८ औं वर्षमा प्रवेश गरेको छ । बिहिबार आइक्यानको वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र सही दिशामा चलायमान गराउन र वित्तीय अनुशासन कायम गर्न चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । सार्वजनिक वित्त व्यवस्थापन सुधारमा महत्वपूर्ण भूमिका खेल्न सुझाव दिनुहुँदै उहाँले सरकारले मुलुकको कर प्रणाली सुधार र राजश्व वृद्धिमा चार्टर्ड एकाउन्टेन्टहरुको महत्वपूर्ण सहकार्यको अपेक्षा गरेको बताउनुभयो ।

यस्तै कार्यक्रममा महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डेयले अर्थतन्त्र विकासमा वित्तीय प्रणाली सुधार आवश्यक हुने र यसमा चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । विश्वमै चार्टर्ड एकाउन्टेन्ट एक प्रतिष्ठित व्यवसाय सरकारको प्रतिनिधि र कर अधिकृतका रुपमा रहेको उहाँको भनाइ छ ।

वार्षिकोत्सवका अवसरमा आइक्यानका अध्यक्ष प्रविणकुमार झाले आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन तथा २०८१–८२ देखि २०८५–८६ सम्मको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गर्नुभयो । यस्तै उक्त अवसरमा अध्यक्ष झाले लेखा, लेखापरीक्षण तथा कर लगायत विषयमा चार्टर्ड एकाउन्टेन्टले गहन अध्ययन र सोही क्षेत्रमा तालिम तथा व्यावसायिक अनुभव प्राप्त गर्ने हुनाले चार्टर्ड एकाउन्टेन्टलाई विज्ञको रूपमा हेरिँदै आइएको बताउनुभयो । चार्टर्ड एकाउन्टेन्टले सरकारका विभिन्न निकायको लेखापरीक्षण तथा परामर्शसम्बन्धी सेवा दिँदै आएको र विभिन्न अध्ययन तथा छानबिनसम्बन्धि समितिमा रहेर समेत काम गरिरहेको बताउनुभयो ।

आइक्यान उपाध्यक्ष निलबहादुर सारु मगरले नेपालमा पनि ठूला ठूला काम गर्ने फर्म सञ्चालनमा सरकारले सहजीकरण गरिदिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थामा २० वर्षभन्दा बढी अवधि सेवा प्रदान गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो । यस्तै संस्थामा उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारीहरुलाई पनि नगद पुरस्कार तथा सम्मान समेत प्रदान गरिएको थियो । यस्तै संस्थाले बिहीबार नै सातौं चार्टर्ड एकाउन्टेन्ट दीक्षान्त समारोह समेत आयोजना गरेको छ । सो अवसरमा ७७ जना विद्यार्थी दीक्षित भएका थिए भने चार्टर्ड एकाउन्टेन्सीका विभिन्न तहमा उत्कृष्ट अंकसहित उत्तीर्ण हुने विद्यार्थीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x