तुइन विस्थापनका लागि गायिका आनीले गरिन एक करोड सहयोग
काठमाडौं,३ साउन । तुइन विस्थापन कार्यक्रमका लागि गायिका आनी छोइङ डोल्माले एक करोड रुपैयाँ सहयोग प्रदान गर्नु भएको छ ।नेपाल टेलिभिजनबाट बुधवा। प्रसारण भएको जनतासँग प्रधानमन्त्री कार्यक्रमको पहिलो श्रृँखलामा गायिका आनीले प्रधानमन्त्री ओलीलाई रकम हस्तान्तरण गर्नुभएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा सहयोगस्वरुप आफूले रकम संकलन गरेर हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।एउटा मात्र भए पनि झोलुङ्गे पुल बन्न सकोस् भनेर आफूले रकम संकलन गरेको उहाँले बताउनुभयो । सहयोग रकम बुझ्दै प्रधानमन्त्री ओलीले आफूले एक महिनाको तलव थपेर तुइन विस्थापन कोष स्थापना गर्ने र अबको एक वर्षमा सबै तुइन विस्थापित भैसक्ने बताउनुभयो । कार्यक्रम प्रस्तोता मनोज पाण्डेले पनि कोषमा पचास हजार रुपैयाँ सहयोग दिने घोषणा गर्नुभयो ।यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले देशभरका तुइन विस्थापन गरेर झोलुङ्गे पुल बनाउने घोषणा गर्नुभएको थियो ।
‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रम साउन २ गते बुधबारदेखि प्रसारणमा आएको छ । नेपाल टेलिभिजनबाट लगायत एपी वान एचडी, हिमालय टेलिभिजन र एबीसी टेलिभिजनबाट ९ बजे एक साथ कार्यक्रम प्रसारण हुने कार्यक्रमको संचालन मनोज पाण्डेले रहेका छन् ।