ग्लाेबल मनि विक २०२५ आगामी चैत ४ देखि भव्य रूपमा मनाउने तयारी

काठमाडाैं, २१ फागुन । नेपाल राष्ट्र बैंकले आउँदो चैत ४ गतेदेखि १० गतेसम्म ग्लाेबल मनि विक २०२५ मनाउने तयारी गरेकाे छ ।
बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ आर्थिक सहयोग र विकास संगठन (ओइसिडि) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ ।
यसै सन्दर्भमा राष्ट्र बैंकले आगामी मार्च १७ देखि २३ ९(२०८१ चैत ४ देखि १०) सम्म ‘थिङ्क बिफर यु फलो, वाइज मनि टुमरो’ भन्ने नाराका साथ ग्लोबल मनी विककाे १३ औं श्रृखला मनाउन लागेकाे हाे ।
यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका छ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ । नेपालमा यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ग्लोबल मनी विक मनाइदै छ ।
यो कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाहरूको सक्रिय सहभागिता रहनेछ । यसको अतिरिक्त विभिन्न गैरसरकारी संस्था र अन्य सरोकारवाला संघसंस्थाहरू पनि यस अभियानमा आबद्ध हुनसक्ने भएकोले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण संघसंस्था र निकायहरूलाई यस अभियानमा सहभागी भई ग्लोबल मनी विक २०२५ भव्य रूपमा मनाउनका लागि आह्वान गर्दै आफ्ना कार्यक्रमहरूको जानकारी उपलब्ध गराउन राष्ट्र बैंकले अनुरोध गर्दछौं ।