पुँजीगत खर्चमा निराशा: आठ महिनामा जम्मा २३ प्रतिशत मात्र खर्च, राजस्व र अनुदान पनि लक्ष्यभन्दा कम

काठमाडाैं, १ चैत्र । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा नेपालको पुँजीगत खर्च अत्यन्तै न्यून देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार, सरकारले विनियोजन गरेको ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँको पुँजीगत बजेटमध्ये फागुन मसान्तसम्म जम्मा २३ प्रतिशत अर्थात् ८१ अर्ब ७७ करोड रुपैयाँ मात्र खर्च भएको छ।
यस अवधिमा चालु खर्च भने लक्ष्यको ५१ प्रतिशत पुगेको छ। सरकारले विनियोजन गरेको ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँमध्ये ५ खर्ब ८३ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ पनि ४७ प्रतिशत अर्थात् १ खर्ब ७२ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको छ। राजस्व संकलन पनि लक्ष्यभन्दा निकै कम रहेको छ। सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा फागुनसम्म जम्मा ५०.७५ प्रतिशत अर्थात् ७ खर्ब १५ अर्ब ४४ करोड रुपैयाँ मात्र संकलन भएको छ ।
विदेशी अनुदानको अवस्था पनि कमजोर छ। सरकारले ५२ अर्ब ३२ करोड रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा फागुनसम्म जम्मा १७ प्रतिशत अर्थात् ९ अर्ब ११ करोड ९२ लाख रुपैयाँ मात्र आएको छ। आठ महिनामा सरकारको कुल आम्दानी ७ खर्ब ३३ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने खर्च ८ खर्ब ३८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। यसले सरकारी खातामा १ खर्ब ५ अर्ब रुपैयाँ घाटा देखाएको छ।