नेपालमा खाने तेलको आयात-निर्यात अस्वाभाविक रूपमा बढ्यो
काठमाडाैं, १० चैत्र । पछिल्लो समय नेपालमा खाने तेलको आयात र निर्यात द्रुत गतिमा वृद्धि भएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा ८० अर्ब ३६ करोड रुपैयाँ बराबरको तेल आयात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ४८ अर्ब ६९ करोड रुपैयाँले वृद्धि भएको हो।
आठ महिनाको अवधिमा सबैभन्दा धेरै ५१ अर्ब ४१ करोड रुपैयाँ बराबरको भटमास तेल आयात भएको छ। त्यस्तै, २० अर्ब ४८ करोडको सनफ्लावर तेल, ८ अर्ब २१ करोडको पाम तेल, १४ करोडको जैतुन तेललगायत विभिन्न प्रकारका तेल नेपाल भित्रिएको छ।
तेल निर्यात पनि तीव्र रूपमा बढेको देखिन्छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ५७ अर्ब ८२ करोड रुपैयाँ बराबरको तेल निर्यात भएको छ। अघिल्लो वर्षको तुलनामा निर्यात ११ गुणाले वृद्धि भएको छ।
भारतमा तेलको भन्सार दर बढेपछि नेपालबाट प्रशोधित तेल निर्यातमा वृद्धि भएको व्यवसायीहरूले बताएका छन्। हाल नेपालबाट भारतमा मात्रै ५६ अर्ब ५६ करोड रुपैयाँ बराबरको तेल निर्यात भएको छ।
नेपाल-भारत वाणिज्य सन्धिअनुसार नेपालमा उत्पादित ३० प्रतिशत मूल्य अभिवृद्धि भएको तेल भारतीय बजारमा करमुक्त हुने भएकाले तेल व्यवसायले ठूलो फाइदा लिएको देखिन्छ।



