एनआरएनए उच्चस्तरीय समितिले एकता महाधिवेशन सम्बन्धी पुस्तिका प्रकाशन गर्यो

काठमाडौं, १३ चैत्र । सर्वोच्च अदालतको २०८० चैत्र २१ गतेको परमादेश अनुसार गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले महाधिवेशनसम्बन्धी जानकारी समेटिएको पुस्तिका प्रकाशन गरेको छ ।
उक्त पुस्तिका आउँदो मे ३–५, २०२५ मा काठमाडौँमा हुने एकता महाधिवेशनका सम्बन्धमा सत्य तथ्य जानकारी दिन प्रकाशन गरिएको समितिले जनाएको छ ।
‘सर्वोच्च अदालतको परमादेशको गलत व्याख्या गर्दै भ्रम फैलाउने कार्य भइरहेकोले संसारभर रहेका एनआरएन साथीहरूलाई सही जानकारी गराउने उद्देश्यले हामीले यो पुस्तिका प्रकाशन गरेका हौँ,’उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले बताइन् ।
पुस्तिकामा एनआरएनएको सदस्यता, महाधिवेशन प्रक्रियामा हुने परिवर्तन, सर्वोच्च अदालतबाट जारी आदेशहरूको प्रभाव, तथा एकता महाधिवेशनको वैधानिकतासम्बन्धी जानकारी समेटिएको छ ।
त्यसैगरी, अक्टोबर २०२५ मा अर्को महाधिवेशन गर्ने भनिएको सन्दर्भमा पुस्तिकाले स्पष्ट पारेको छ कि सर्वोच्च अदालतको आदेशअनुसार हुने मे २०२५ को एकता महाधिवेशनले मात्र कानुनी मान्यता प्राप्त गर्नेछ । एकता महाधिवेशन सम्पन्न भएपछि नवनिर्वाचित कार्यसमितिले एनआरएनए केन्द्रीय सचिवालयबाट आफ्नो काम तत्काल सुरु गर्ने पनि समितिले जनाएको छ