सेबोनद्धारा आइपीओमा १० कित्ते नीति हेरफेरको तयारी, यस्ता छन् विकल्प

काठमाडौं, १९ चैत्र । शेयर बजारमा चलिरहेको १० कित्ते नीतिलाई हेरफेर गर्न सेबोनले प्रक्रिया अगाडि बढाएको छ ।
यस अघि धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधनका लागि बनेको अध्ययन समितिको सुझावका आधारमा सेबोनले १० कित्ते नीति हेरफेर गर्ने तयारी गरेको हो । उक्त समितिले १० कित्ते नीति पुनरावलोकन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।
कम्पनीले कुल निष्कासन गर्ने आइपीओको १० प्रतिशत मात्रै १० कित्ताका दरले बिक्री गर्न पाउने र बाँकी रहेको सेयरमा न्यूनतम् ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था लागू गर्नेबारे छलफल भइरहेको सेबोन स्रोतले बताएको छ।
बजारको जोखिम बिर्सिएर आइपीओमा ओइरो लाग्न थालेपछि सेबोनले यसलाई हेरफेर गर्नुपर्ने निष्कर्ष निकालेको हो । अहिले १० कित्ते नीतिको व्यवस्थामा हेरफेरका लागि विभिन्न विकल्पमाथि छलफल भइरहेको छ। कम्पनीले निष्कासन गर्ने कुल आइपीओको १० प्रतिशतमा मात्रै १०/१० कित्ताका दरले आवेदन दिन पाउने र बाँकीमा ५० कित्ताभन्दा कमका लागि आवेदन दिन नपाउने प्रावधान राख्नुपर्नेकुरा भइरहेको छ।
कम्पनीले जारी पुँजीको न्यूनतम १० देखि अधिकतम ४९ प्रतिशतसम्म आइपीओ निष्कासन गर्न सक्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ ले गरेको छ। सेबोनले नियमावली संशोधनका लागि समिति गठन गरेर तीन महिनादेखि अध्ययन गरिरहेको छ ।
सेयर बजारको संरचना खासगरी कोभिडपछि व्यापक फेरबदल भएको छ। न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउने व्यवस्थाका कारण लगानीकर्ताको संख्या उल्लेख्यरुपमा बढेको छ । जसले गर्दा कम्पनीको आइपीओमा २० गुणाभन्दा धेरै आवेदन पर्ने गरेको छ।
अत्यधिक आवेदनका कारण अधिकांशको हात खाली हुने गरेको छ। ओम मेगा श्री फर्मास्युटिकल्सको आइपीओ चैत १२ गते बाँडफाँड गरिएकामा १७ लाख ६९८ को हात खाली भएको थियो । १०० रुपैयाँ अंकित मूल्यमा किनेको सेयरको मूल्य दोस्रो बजारको पहिलो कारोबारमै तीन गुणासम्म पुग्ने भएका कारण उच्च संख्यामा आवेदन पर्ने गरेको हो ।
अहिले दोस्रो बजारमा सक्रिय सेयर लगानीकर्ताको संख्या २३ लाख पुगेको नेप्सेको तथ्यांक छ । दुई वर्षअघि यस्तो संख्या १५ लाख ३५ हजार थियो । दोस्रो बजारमा सक्रिय सबैजसो लगानीकर्ता आइपीओ भरेरै आएका हुन् ।
बिजनेस विनाका कम्पनीको आइपीओमा समेत १० कित्ते नीतिले लगानीकर्तालाई आकर्षित गरेको सेबोनको बुझाइ छ। बजारको दायरा विस्तार गर्न तत्कालीन अध्यक्ष रेवतबहादुर कार्कीले २०७५ मा १० कित्ते नीति ल्याएका थिए ।