Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

नेपाली कामदार नरोक्न मलेसियाका मानव संशाधन मन्त्रीको आग्रह

नेपाली कामदार नरोक्न मलेसियाका मानव संशाधन मन्त्रीको आग्रह

काठमाडौं, १२ साउन । मलेसियाका श्रम मन्त्री एम कुलसेगरानले नेपाली कामदारलाई मलेसियामा रोजगारीका लागि जान बन्देज नलगाउन आग्रह गरेका छन् । नेपालले द्विपक्षीय श्रम सम्झौता नभई नेपाली कामदार मलेसिया नपठाउने भन्दै अल्पकालका लागि मलेसियाको वैदेशिक रोजगारीमा प्रतिबन्ध लगाएको छ । श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारसँग बिचौलिया कम्पनीहरुले अनावश्यक शुल्क असुली गरिरहेको भन्दै दुई सरकारबीच श्रम सम्झौताका माध्यमबाट यसलाई व्यवस्थित गर्न चाहेको मलेसिया सरकारलाई बताएका छन् ।
तर उनका मलेसियाली समकक्षी एम कुलसेगरानले द्विपक्षीय सम्झौताको प्रक्रिया अघि बढेकोले अल्पकालका लागि भनेर नेपाली कामदार नरोक्न नेपालसँग आग्रह गरेको बताएका छन् । मलेसियाली मानव संशाधनमन्त्रीलाई उद्धृत गर्दै मलेसियाली सञ्चारमाध्यम ‘द स्टार’ ले जनाएको छ । मलेसियाका धेरै उद्योग व्यवसाय विदेशी कामदारमा निर्भर रहेको भन्दै मानव संशाधन मन्त्रीले मलेसियामा कामदार प्रतिबन्ध नगर्न नेपाल समक्ष आग्रह गरेका छन् ।
नेपालले मलेसियासँग लामो समयदेखि द्विपक्षीय श्रम सम्झौताको लागि पहल गर्दै आएको भएपनि श्रम सम्झौता हुन सकिरहेको थिएन । अर्कोतर्फ, मलेसिया जाने कामदारले विचौलीया कम्पनीहरु भीएलएन, माइग्राम, वन स्टप सर्भिस लगायतले अतिरिक्त शुल्क संकलन गर्दै आएका थिए ।
मलेसियामा ठूलो संख्यामा नेपाली कामदारहरुले काम गर्दै आएका छन् । उनीहरुको साहस, इमान्दारिताका कारण मलेसियामा नेपाली कामदारको ठूलो मा रहेको छ । मलेसियाली मानव संशाधन मन्त्रीले नेपाललाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । उनको यो आग्रहसँगै नेपालले द्विपक्षीय श्रम सम्झौताको अडानमै रहन्छ या यसमा पुनर्विचार गर्छ भन्ने प्रश्न उब्जिएको छ । मन्त्री विष्टले भने द्विपक्षीय श्रम सम्झौताबिना कामदार पठाउने निर्णयमा पुनर्विचार नगरिने बताएका छन् ।
मलेसियाली मानव संशाधन मन्त्रीले आफू नेपाली कामदारमाथि तेश्रो पक्षले लगाएको अतिरिक्त शुल्कका सम्बन्धमा जानकार रहेपनि यसअघि बरिसान नेशनल पार्टीको सरकार रहेकाले श्रम सम्झौताको काम अघि नबढेको उल्लेख गरेका छन् । उनले वर्तमान सरकार दुई सरकार (जी टु जी) सम्झौताका लागि प्रतिवद्ध रहेको बताएका छन् । ‘यस विषयमा मन्त्रीपरिषद् बैठकमा छलफल भएको छ, अब आगामी बैठकमा तत्काल कदम चाल्नका लागि प्रस्ताव लैजानेछु,’ मन्त्रीलाई उल्लेख गर्दै द स्टारले लेखेको छ । मलेसियास्थित नेपाल दूतावासका कर्मचारी र श्रम सहचारीहरुसँग यस विषयमा छलफल अघि बढीसकेको उनले उल्लेख गरेका छन् । उनले आउँदो सोमबार मलेसियास्थित दूतावासका उच्च अधिकारीसँग छलफल गर्ने र कुनै विचौलिया बिना दुई सरकारी तहमा छलफल र सम्झौता गरी नेपाली कामदार आपूर्ति गर्ने विषयलाई टुंगो लगाइने बताएका छन् ।
अहिलेसम्म नेपालले दक्षिण कोरिया, इजरायल र जोर्डनसँग मात्र द्विपक्षीय श्रम सम्झौता गरी कामदार पठाउँदै आएको छ । धेरै नेपाली कामदारहरु रोजगारीमा जाने गरेको मध्यपूर्वी एसियाका साउदी अरेबिया, बहराइन देशहरुसँग सम्झौताका लागि पत्राचार भएको भए पनि त्यी देशहरुसँग श्रम सम्झौताको प्रक्रिया अघि बढेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x