औषधिमा ट्यारिफ लगाएर अमेरिकी बजारमा स्वदेशीकरणको तयारी: ट्रम्पको नयाँ घोषणा

काठमाडाैं, २७ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिंटन डीसीमा आयोजित एक कार्यक्रममा बोल्दै अब औषधिमा पनि ट्यारिफ लगाउने घोषणा गरेका छन्। यो कदम उनले ‘अत्यन्तै महत्त्वपूर्ण रणनीतिक निर्णय’ भएको बताएका छन्।
राष्ट्रपति ट्रम्पले भने, “हामी औषधिमा पनि ट्यारिफ लगाउने छौं। यसले विदेशी कम्पनीहरूलाई अमेरिका फर्किन बाध्य बनाउनेछ। अमेरिका सबैभन्दा ठूलो बजार भएकोले, उत्पादनमा यहाँ फर्कनु उनीहरूका लागि लाभदायक हुनेछ।”
उनको दाबी अनुसार, यो नीतिले चीन लगायत अन्य देशहरूबाट औषधि उद्योग अमेरिका फर्किनेछ, जसले अमेरिका आफैँलाई औषधि उत्पादनको एक मुख्य केन्द्र बनाउनेछ।
गत साता ट्रम्प प्रशासनले औषधिमा ट्यारिफको छुट दिएको थियो, तर अहिले भने त्यही निर्णय फिर्ता लिँदै नयाँ नीति घोषणा गरिएको हो।
विश्वका प्रमुख औषधि उत्पादक राष्ट्रहरूमध्ये चीन, भारत र युरोप अगाडि छन्। यद्यपि, केही स्वास्थ्य विज्ञहरूले औषधि उत्पादनमा लाग्ने कच्चा पदार्थमा शुल्क लगाएमा त्यसको असर सिधै आम उपभोक्तामा पर्ने चेतावनी दिएका छन्। उनीहरूको अनुसार, यस्तो निर्णयले औषधिको मूल्य वृद्धि भई सर्वसाधारणका लागि स्वास्थ्य सेवा अझ महँगो बन्ने सम्भावना छ।
राष्ट्रपति ट्रम्पको यो नीति अमेरिकी उद्योग विस्तारको दिशामा चालिएको कदमको रुपमा हेरिएको छ, यद्यपि यसको दीर्घकालीन प्रभावबारे चर्को बहस सुरु भइसकेको छ।