एउटै कार्यक्रममा ७ जना मन्त्री आउनुले सरकार र निजी क्षेत्रबीचको सम्बन्धलाई पुष्टी गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागिरहेको र सरकारको तर्फबाट पनि सोही अनुसार सहयोग भइरहेको बताएका छन्।
महासंघको ५९औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्रलाई अगाडि बढाउन, उद्योग सञ्चालन र प्रवर्द्धनका लागि सरकारले उत्कृष्ट नीतिहरू बनाएको जानकारी दिए । साथै उनले निजी क्षेत्र र सरकार हातेमालो गरेर अगाडि बढ्न सक्ने बताए । यसका लागि सरकारलाई बाध्य बनाउनुपर्ने भए पनि आन्दोलन गरिरहन आवश्यक नरहेको उनको भनाइ थियो।
प्रधानमन्त्री ओलीले सरकार स्थायीत्व र देशको समृद्धि बनाउनका लागिपरेको पनि स्पष्ट पारे। उनले सरकार र सरकारका नीतिहरू छिटो बदलिने, उत्तरदायित्व बिर्सिने र अघिल्लो सरकारले ल्याएको राम्रो कामलाई निरन्तरता नदिने मानसिकतालाई बदल्नुपर्नेमा जोड दिए।
सरकार र निजी क्षेत्रको सम्बन्ध नमुनाको रूपमा विकास भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले निजी क्षेत्रको कार्यक्रममा एकैपटक यति धेरै मन्त्रीहरूको उपस्थिति हुनुले पनि यसलाई पुष्टि गर्ने दाबी पनि गरे।
‘निजी क्षेत्रको कार्यक्रममा कुनै पनि देशमा ७ जना मन्त्री आउँदैनन् होला । तर, यहाँ त सबै आएका छन् । देश विकास गर्ने सबै मिलेर हो । जनतालाई सुरक्षा प्रदान गर्ने र साथमा छ भन्ने विश्वास दिलाउने सरकारको जिम्मेवारी हो ।’ उनले भने ।
अब डिपार्टमेन्ट स्टोरको अवधारणाले प्राथमिकता पाउने र ठूलो खेती तथा ठूलो उत्पादनमा जानुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए। समय परिवर्तन भएकाले सबैले आफूलाई पनि परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले नेपाली साबुन, स्याम्पु र मन्जन जस्ता स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताए। प्रविधि आयात र हस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने र सजिलो काम मात्र गरेर देश विकास सम्भव नभएको उनको भनाइ थियो।
आयातले मात्र घर नचल्ने अवस्थामा देश समृद्ध हुन नसक्ने भन्दै उनले नागरिकलाई बचत गर्न सिकाउनुपर्नेमा जोड दिए ।