Date

मङ्ल, बैशाख २, २०८२
Tue, April 15, 2025

एमआरपी नदेखाउने उद्योगमाथि वाणिज्य विभागको कडाइ: दैनिक अनुगमनमा तीव्रता

एमआरपी नदेखाउने उद्योगमाथि वाणिज्य विभागको कडाइ: दैनिक अनुगमनमा तीव्रता

काठमाडाैं, २९ चैत्र । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुशासन कायम गर्न थालेको सघन अनुगमन कार्य अन्तर्गत आज पुनः चारवटा तार उद्योगहरूको कारोबार रोक्का गरेको छ।

आज कारबाहीमा परेका उद्योगहरूमा जनता केवल इन्डस्ट्री प्रा.ली., युनाइटेड वायर एन्ड केवल इन्डस्ट्री प्रा.ली., प्राइम केवल इन्डस्ट्री प्रा.ली. र राठी ब्रान्डको अन्नपूर्ण केवल्स प्रा.ली. रहेका छन्।

विभागले काठमाडौँको भोटाहिटी क्षेत्रको अनुगमनको क्रममा यी उद्योगहरूले उत्पादनमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नगरेको भेटिएपछि कारोबार रोक्का गरेको हो।

यस महिनाभरि विभागले १५० वटा उद्योगहरूको अनुगमन गर्दै २० भन्दा बढी उद्योगहरूको कारोबार रोक्का गरिसकेको छ। कारबाहीमा परेका उद्योगीहरूलाई आवश्यक बिलविजक तथा कागजातसहित विभागमा उपस्थित भई प्रक्रिया पूरा गरेपछि मात्र कारोबार फुकुवा गरिने विभागले जनाएको छ।

विभागका महानिर्देशक कुमार दहालले भने, “एमआरपीको स्पष्ट उल्लंघन गर्नेलाई कडाइका साथ कारबाही गरिएको छ। हामी अनुगमनलाई निरन्तरता दिँदैछौँ र जुनसुकै क्षेत्रमा भए पनि नियम उल्लंघन गर्नेलाई छाड्ने छैनौं।”

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा तीव्र पारिएको अनुगमन अभियानले एमआरपी अनिवार्य गर्न जोड दिएको छ।

सिमेन्ट उद्योगहरूले एमआरपी राख्न केही समय माग गरे पनि अबको केही दिनमै त्यो अवधि सकिने भएको छ। विभागका अनुसार आगामी वैशाख १ गतेदेखि सबै सिमेन्टका बोरामा एमआरपी उल्लेख अनिवार्य हुनेछ।

तौल वा नापले बिक्री गरिने सामग्रीबाहेक अन्य सबै उपभोग्य वस्तुमा एमआरपी उल्लेख गर्नुपर्ने कानुनी प्रावधान लागू भएको छ। अनुगमनको प्रभावस्वरूप अधिकांश उद्योगहरूले आफ्नो उत्पादनमा एमआरपी उल्लेख गर्न थालेको विभागले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x