Date

सोम, बैशाख १, २०८२
Mon, April 14, 2025

नयाँ बर्षमा नयाँ ब्याजदर कायम गर्दै वाणिज्य बैंकहरु, कुन कुन बैंकको कति ?

नयाँ बर्षमा नयाँ ब्याजदर कायम गर्दै वाणिज्य बैंकहरु, कुन कुन बैंकको कति ?

काठमाडाैं, ३१ चैत्र । नयाँ आर्थिक वर्षको प्रारम्भसँगै देशका वाणिज्य बैंकहरूले बैशाख महिनाका लागि व्यक्तिगत तथा संस्थागत मुद्दति निक्षेपमा लागु हुने ब्याजदर सार्वजनिक गरेका छन्। कुल २० वटै वाणिज्य बैंकहरूले बैशाख १ गतेदेखि लागु हुने ब्याजदर प्रकाशित गरेका हुन्। तीमध्ये १६ वटाले अघिल्लो चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने तीन वटाले ब्याजदरमा केही गिरावट गरेका छन्। यता, एभरेष्ट बैंक भने एक मात्र यस्तो बैंक बनेको छ, जसले बैशाख महिनाका लागि ब्याजदरमा वृद्धि गरेको छ।

नेपाल बैंक, सानिमा बैंक र कुमारी बैंकले ब्याजदर घटाएका बैंकहरू हुन्। नेपाल बैंकले व्यक्तिगत निक्षेपमा चैतको ५.५ प्रतिशत दरलाई घटाएर बैशाखमा ५.१५ प्रतिशत बनाएको छ भने संस्थागत निक्षेपमा ५.१५ बाट घटाएर ४ प्रतिशत निर्धारण गरेको छ। यस्तै, सानिमा बैंकले व्यक्तिगततर्फ ६.०५ बाट घटाएर ५.९५ प्रतिशत तथा संस्थागतमा ४.३ बाट ४.२ प्रतिशत पुर्‍याएको छ। कुमारी बैंकले पनि व्यक्तिगत निक्षेपमा ६.०१ बाट घटाएर ५.९२ प्रतिशत र संस्थागतमा ५.०१ बाट ४.९२ प्रतिशत तोकेको छ।

ब्याजदर बढाउने एक मात्र बैंक एभरेष्ट हो। यसले व्यक्तिगत निक्षेपको ब्याजदर ६ प्रतिशतबाट बढाएर ६.६१ प्रतिशत र संस्थागत निक्षेपको दर ५ बाट बढाएर ५.६१ प्रतिशत पुर्‍याएको छ।

अन्य बैंकहरूले भने चैत महिनाकै दरलाई यथावत राखेका छन्। जस्तै, एनएमबि र एनआइसी एशिया बैंकले व्यक्तिगततर्फ ६.६ र संस्थागततर्फ ५.६ प्रतिशत ब्याज दिनेछन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगतमा ६.५ र संस्थागतमा ५.१ प्रतिशत, प्राइम कमर्सियलले व्यक्तिगतमा ६.२५ र संस्थागतमा ३.५ प्रतिशत ब्याज दिनेछन्। स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगततर्फ ६.२५ र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याज कायम राखेको छ भने प्रभूले व्यक्तिगतमा ६.१ र संस्थागतमा ५ प्रतिशत ब्याज दिने निर्णय गरेको छ।

त्यसैगरी, ग्लोबल आइएमई, माछापुच्छ्रे, सिद्धार्थ, र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६ प्रतिशत ब्याज कायम राखेका छन्। संस्थागत निक्षेपमा उनीहरूको ब्याजदर क्रमशः ४.४, ४, ५ र ३ प्रतिशत रहेको छ। हिमालयन र नेपाल एसबिआई बैंकले व्यक्तिगत निक्षेपमा ५.५ प्रतिशत ब्याज दिनेछन् भने संस्थागततर्फ क्रमशः ४.५ र ४ प्रतिशत ब्याज तोकिएको छ।

लक्ष्मी सनराइज र नबिल बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा समानरुपमा ५.७५ प्रतिशत ब्याज दिनेछन्। तर, संस्थागत निक्षेपमा लक्ष्मीले ४.५ प्रतिशत र नबिलले ४.०५ प्रतिशत ब्याज दिने भएका छन्। सिटिजन्स बैंकले व्यक्तिगत निक्षेपमा ५.६५ प्रतिशत र संस्थागतमा ४ प्रतिशत तोकेको छ भने कृषि विकास बैंकले व्यक्तिगतमा ५.५१ प्रतिशत र संस्थागतमा ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x