बैंकिङ प्रणालीबाट थप ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

काठमाडाैं, ३१ चैत्र । बैंकिङ प्रणालीमा उत्पन्न अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (वैशाख १ गते) फेरि ३० अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गर्न लागेको छ। राष्ट्र बैंकले यसका लागि २१ दिन अवधिको निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) जारी गरेको हो।
यस अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन्। सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँको माग गर्नुपर्नेछ भने अधिकतम ५ करोड रुपैयाँको निःशेष भागसम्म जाने गरी कुल ३० अर्ब रुपैयाँको माग गर्न सकिने व्यवस्था गरिएको छ।
यस उपकरणको साँवा र ब्याज फिर्ता भुक्तानी मिति २०८२ वैशाख २१ गते तोकिएको छ। उक्त निक्षेप संकलनमा ब्याजदर भने प्रतिस्पर्धात्मक बोलकबोल (competitive bidding) प्रक्रियाबाटै निर्धारण गरिने राष्ट्र बैंकले जानकारी दिएको छ।
राष्ट्र बैंकले यसअघि पनि चैत महिनामा विभिन्न मितिहरूमा चरणबद्ध रूपमा तरलता प्रशोचन गर्दै आएको छ। चैत ३ गते ३० अर्ब रुपैयाँ, चैत ६ गते २५ अर्ब, चैत १० गते २० अर्ब, चैत १३ गते ३० अर्ब, चैत १७ गते २५ अर्ब, चैत २० गते ३० अर्ब, चैत २५ गते ३५ अर्ब, र चैत २७ गते २० अर्ब रुपैयाँ गरी राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता व्यवस्थापन गरिसकेको छ।
वित्तीय प्रणालीमा सन्तुलन कायम राख्न तथा मुद्रास्फीति नियन्त्रणमा सहयोग पुग्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो मौद्रिक उपकरण प्रयोग गर्दै आएको हो ।