Date

बुध, बैशाख ३, २०८२
Wed, April 16, 2025

नेपालमा वैदेशिक लगानीको आकर्षण बढ्दो: ९ महिनामै करिब ५८ अर्बको प्रतिबद्धता, सेवा र पर्यटन क्षेत्रमा उच्च चासो

नेपालमा वैदेशिक लगानीको आकर्षण बढ्दो: ९ महिनामै करिब ५८ अर्बको प्रतिबद्धता, सेवा र पर्यटन क्षेत्रमा उच्च चासो

काठमाडाैं, २  वैशाख । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्मको नौ महिनाको अवधिमा नेपालमा करिब ५८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ। उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, यो प्रतिबद्धता गत वर्षको सोही अवधिको तुलनामा २७ अर्ब ८५ करोड ६९ लाख रुपैयाँले बढी हो। गत वर्षको सोही अवधिमा ३० अर्ब ११ करोड ८५ लाख रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको थियो। वैदेशिक लगानीमा भएको यो उल्लेखनीय वृद्धिको प्रमुख कारण भनेको तेस्रो लगानी सम्मेलनपछिको सुधार, विशेषतः स्वचालित मार्ग (अटोमेटिक रुट) प्रणालीको कार्यान्वयन रहेको देखिन्छ।

विभागका अनुसार अप्रुभल रुटबाट २५६ उद्योगमा ५५ अर्ब ७ करोड ७४ लाख र अटोमेटिक रुटबाट २२४ उद्योगमा २ अर्ब ८९ करोड ७९ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। चैत महिनामात्रै हेर्ने हो भने ५३ वटा उद्योगका लागि १३ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ। यसमध्ये प्रमाणीकरण प्रणालीबाट २३ उद्योगमा १३ अर्ब १७ करोड ४० लाख र स्वचालित प्रणालीबाट ३० उद्योगमा १४ करोड ११ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ।

शेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत ३२ उद्योगमा १ अर्ब ९४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ भने ५१ वटा उद्योगमा टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) स्वीकृत भएको छ। विभागका अनुसार ९ महिनाको अवधिमा ४६८ वटा साना, ८ वटा मध्यम, र ४ वटा ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको छ। यदि यी प्रतिबद्धता अनुसार लगानी भित्रियो भने करिब १२ हजार ४३५ जनालाई रोजगारीको अवसर सिर्जना हुने विभागको अनुमान छ।

क्षेत्रगत लगानी विवरण हेर्दा सेवा क्षेत्रमा सबैभन्दा बढी, अर्थात् ३४ अर्ब ९२ करोड ७७ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ। पर्यटन क्षेत्रमा १८९ वटा उद्योगमा १८ अर्ब ३८ करोड ७५ लाख, सूचना प्रविधि क्षेत्रमा १८५ उद्योगमा १ अर्ब ११ करोड १६ लाख, उत्पादन क्षेत्रमा ३४ उद्योगमा २ अर्ब ७४ करोड २० लाख, ऊर्जा क्षेत्रमा २५ करोड ५० लाख, कृषि क्षेत्रमा ७६ करोड १० लाख तथा पूर्वाधार क्षेत्रमा २ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ।

यस अवधिमा वैदेशिक लगानीकर्ताले व्यवसायिक भिसा लिन गरेको आवेदन पनि उल्लेखनीय रूपमा बढेको छ। ९ महिनामा २ हजार ५५५ जना लगानीकर्ताले व्यवसायिक भिसाको सिफारिस मागेका छन्, जुन अघिल्लो वर्षको १ हजार ७२० जनाको तुलनामा उल्लेखनीय वृद्धि हो। चैत महिनामै मात्र १४८ जना लगानीकर्ताले व्यवसायिक भिसा लिएका छन्।

त्यस्तै, यो अवधिमा वैदेशिक लगानीकर्ताले रोयल्टीबापत ९ अर्ब ४९ करोड ९६ लाख रुपैयाँ फिर्ता लगेका छन्। गत वर्षको सोही अवधिमा यो रकम ९ अर्ब १ करोड ८४ लाख रुपैयाँ थियो। चैत महिनामै मात्र ४८ करोड १३ लाख रुपैयाँ बराबरको रोयल्टी फिर्ता लिएको देखिन्छ। हालसम्म नेपालमा कुल ६ हजार ८७८ उद्योगका लागि ५ खर्ब ७७ अर्ब ३१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भइसकेको विभागको तथ्याङ्कले देखाउँछ, जुन नेपालमा वैदेशिक लगानीको बढ्दो आकर्षणको संकेत हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x