मुलुकको सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब नाघ्यो

काठमाडौं, ५ बैशाख । चालु आर्थिक वर्षको ९ महिनामा झण्डै साढे २ खर्ब सार्वजनिक ऋण थपिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पहिलो ९ महिना सम्ममा देशको सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ रहेको हो । २०८१ साउन १ गतेसम्म २४ खर्ब ३४ अर्ब ९ करोड तिर्न बाँकी ऋण रहेको थियो ।
सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ र बाह्य ऋण १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ छ । कुल सार्वजनिक ऋणमा चैत मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१.१९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४८.८१ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।