Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

चैत मसान्तसम्म नेपालको सार्वजनिक ऋण २६ खर्ब नाघ्यो, कुल जिडिपीको ४६.७५ प्रतिशत बराबर

चैत मसान्तसम्म नेपालको सार्वजनिक ऋण २६ खर्ब नाघ्यो, कुल जिडिपीको ४६.७५ प्रतिशत बराबर

काठमाडाैं, ५ वैशाख । चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपाल सरकारले लिएको कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो ऋण मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी) को ४६.७५ प्रतिशत बराबर हो।

कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ छ भने बाह्य ऋण १३ खर्ब १ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षमा सरकारले आन्तरिक र बाह्य स्रोतबाट गरी जम्मा ३ खर्ब ६६ अर्ब ९ करोड रुपैयाँ ऋण उठाएको छ। यसमा आन्तरिक स्रोतबाट २ खर्ब ९१ अर्ब १४ करोड रुपैयाँ र बाह्य स्रोतबाट ७४ अर्ब ९५ करोड रुपैयाँ ऋण लिइएको छ। सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेकोमा हालसम्म ६६.९३ प्रतिशत मात्रै उठ्न सकेको छ।

आन्तरिक ऋणतर्फ ३ खर्ब रुपैयाँ उठाउने लक्ष्य थियो, जसको ८८.२२ प्रतिशत अर्थात् २ खर्ब ९१ अर्ब १४ करोड रुपैयाँ उठाइएको छ। तर, बाह्य ऋणतर्फ २ खर्ब १७ अर्ब रुपैयाँ उठाउने लक्ष्य थियो, जसमध्ये हालसम्म ३४.५४ प्रतिशत मात्रै अर्थात् ७४ अर्ब ९५ करोड रुपैयाँ उठ्न सकेको छ। यसैबीच, ऋणको सेवा खर्चसमेत उल्लेख्य रहेको देखिन्छ। आर्थिक वर्ष २०८१/८२ का लागि ऋण सेवा खर्चको वार्षिक बजेट ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ तोकिएकोमा चैत मसान्तसम्म २ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ खर्च भइसकेको छ। यो कुल वार्षिक लक्ष्यको ६२.६७ प्रतिशत हो।

यसमा आन्तरिक ऋण भुक्तानीतर्फ मात्रै २ खर्ब १२ अर्ब ९३ करोड रुपैयाँ खर्च गरिएको छ भने बाह्य ऋण भुक्तानीमा ३९ अर्ब ५५ करोड रुपैयाँ खर्च भइसकेको छ। त्यस्तै, ब्याज भुक्तानीका लागि छुट्याइएको कुल १ खर्ब ३ अर्ब १२ करोड रुपैयाँमध्ये ४९ अर्ब ४५ करोड रुपैयाँ खर्च भइसकेको छ। ब्याज भुक्तानीको यो आंकडाले अब राज्यको वित्तीय दायित्वमा उल्लेख्य हिस्सा ओगट्न थालेको प्रष्ट देखिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x