Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

सस्तो ब्याजदर र लगानी वृद्धिले सवारी कर्जामा दोहोरो अंकको वृद्धि, निजी प्रयोजनको कर्जा उच्च

सस्तो ब्याजदर र लगानी वृद्धिले सवारी कर्जामा दोहोरो अंकको वृद्धि, निजी प्रयोजनको कर्जा उच्च

काठमाडाैं, ५ वैशाख ।  चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म सवारी साधन खरिद प्रयोजनका लागि दिइने कर्जामा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने अटो कर्जा झन्डै ५.३७ प्रतिशतले बढेर १ खर्ब २९ अर्ब ९५ करोड ६१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.९० प्रतिशतले बढी हो। विशेषगरी निजी प्रयोजनको सवारी कर्जा दोहोरो अंकले अर्थात् १७.२२ प्रतिशतले बढेर ४२ अर्ब ३० करोड ५७ लाख रुपैयाँ पुगेको छ। तर, व्यवसायिक प्रयोजनको सवारी कर्जा भने २.७८ प्रतिशतले घटेर ८७ अर्ब ६५ करोड ४ लाख रुपैयाँमा सीमित भएको छ।

हाल बैंकहरुले सस्तो ब्याजदरमा अटो कर्जा उपलब्ध गराइरहेका छन्। आधार दर औसतमा साढे ६ प्रतिशतमा झरेको छ, जसका कारण गाडी किन्न चाहनेहरुले एकल अंकमै ऋण लिन सक्ने अवस्था बनेको छ। अधिकांशले ८ प्रतिशत हाराहारीमा अटो लोन प्राप्त गरिरहेका छन्। यसले गर्दा अटोमोबाइल क्षेत्रमा माग बढेको छ। वाणिज्य बैंकहरुले मात्र ८ महिनामा १ खर्ब १३ अर्ब ४३ करोड ९ लाख रुपैयाँ अटो कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो आवको सोही अवधिमा १ खर्ब ७ अर्ब ६४ करोड १० लाख थियो।

बैंकहरुको विश्लेषण गर्दा ९ वटाले अटो कर्जा वृद्धि गरेका छन् भने ११ वटाले घटाएका छन्। सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ, जसले १५ अर्ब ८६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। दोस्रो स्थानमा नबिल बैंक रहेको छ, जसको कर्जा १८.९४ प्रतिशतले बढेर ११ अर्ब ६१ करोड ६६ लाख रुपैयाँ पुगेको छ। कर्जा वृद्धिको प्रतिशतको आधारमा हेर्दा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी ६०.९३ प्रतिशतले कर्जा बढाएर ८ अर्ब ७६ करोड ८० लाख रुपैयाँ पुर्‍याएको छ। यस्तै नेपाल बैंक, नेपाल एसबिआई, कृषि विकास बैंक, एभरेष्ट बैंक र सानिमा बैंकले पनि दोहोरो अंकमा कर्जा वृद्धि गरेका छन्।

अर्कोतर्फ, अटो कर्जा घटाउने बैंकमध्ये एनआइसी एशिया सबैभन्दा अगाडि छ, जसको कर्जा ३८.१७ प्रतिशतले घटेर २ अर्ब ७८ करोड १७ लाखमा झरेको छ। त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड, कुमारी बैंक, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकको अटो कर्जा पनि उल्लेखनीय रुपमा घटेको देखिन्छ। यसरी समग्रमा सस्तो ब्याजदर, निजी प्रयोजनको गाडी खरिदमा बढ्दो चासो र बैंकहरुको सक्रियताले गर्दा अटो कर्जाको माग र प्रवाह दुवैमा उल्लेखनीय वृद्धि देखिएको छ।

कुन बैंकको सवारी कर्जा कति ? 
(रकम दश लाखमा)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x