अवरोध पार गर्दै अगाडि बढ्दै नेपाल: अन्तर्राष्ट्रिय व्यापारमा उल्लेखनीय सुधार, निर्यातमा ऐतिहासिक उछाल

काठमाडाैं, ७ वैशाख । लामो समयसम्म घट्दो अवस्थामा रहेको नेपालको अन्तर्राष्ट्रिय व्यापार अन्ततः सुधारको दिशामा उन्मुख देखिएको छ। पछिल्लो केही महिनायता आयात-निर्यातको अवस्था क्रमशः उकासिंदै गएको भन्सार विभागको तथ्यांकले देखाएको छ। पुसदेखि चैतसम्मको चार महिनामा मात्र १ खर्ब १५ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवाहरू निर्यात भएका छन्।
चैत महिनामै ३० अर्बको निर्यात, गत वर्षको तुलनामा दोब्बर वृद्धि
चैत महिनामा मात्रै ३० अर्ब दुई करोड रुपैयाँ बराबरको निर्यात भएको छ, जुन अघिल्लो वर्षको चैत महिनाको तुलनामा दोब्बर हो। फागुनमा पनि निर्यात १३ अर्ब रुपैयाँको थियो, जुन तुलनात्मक रूपमा उच्च हो। चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म (९ महिनाको अवधिमा) कुल निर्यात १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६५ प्रतिशतले बढी हो।
भटमासको तेल अग्रस्थानमा, टिन, प्लास्टिक र प्याकेजिङ उद्योगको व्यापारमा समेत बृद्धि
कुल निर्यातमध्ये ३३ प्रतिशत हिस्सा भटमासको तेलको रहेको छ, जुन तेस्रो मुलुकबाट आयात गरी भारतमा निर्यात गरिन्छ। भटमासको प्रशोधित तेलको निर्यात गत वर्षको तुलनामा ६४ गुणाले वृद्धि भएको छ भने अर्ध-प्रशोधित तेलको आयात ५ गुणाले बढेको छ। यसको प्रभाव स्वरूप टिन, प्लास्टिक र कार्टुन प्याकेजिङ उद्योगमा समेत उल्लेख्य व्यापार वृद्धि भएको व्यवसायीहरूले बताएका छन्।
फलामे पाताको निर्यातमा गिरावट, पत्रु आयात ७७ प्रतिशतले घट्यो
एकातिर भटमास, धागो, र सूर्यमुखी तेलको निर्यात उच्च भएको भए पनि अर्कातर्फ फलामे पाताको निर्यातमा २९ प्रतिशतले गिरावट आएको छ। फलामे पाता बनाउने कच्चा पदार्थ पत्रुको आयातसमेत ७७ प्रतिशतले घटेको छ।
गत वर्षको तुलनामा व्यापारमा व्यापक सुधार, आयात निर्यात दुवै बढ्दै
विभागका अनुसार, चालु आर्थिक वर्षको कात्तिकदेखि चैत मसान्तसम्म आयातमा १२.१८ प्रतिशत र निर्यातमा ६५.१६ प्रतिशतले बृद्धि भएको छ। साउनदेखि असोजसम्म भने आयात ४.१७ प्रतिशत र निर्यात ६.११ प्रतिशतले घटेको थियो। तर असोजपछि व्यापारको गति तीव्र गतिमा बढेको देखिन्छ।
साउनदेखि चैतसम्मको अवधि भित्र नेपालले १३ खर्ब ९ अर्ब रुपैयाँको आयात र १ खर्ब ८८ अर्ब रुपैयाँको निर्यात गरेको छ।
अघिल्ला दुई वर्षको व्यापार ह्रासपछि सुधारतर्फको यात्रा
आर्थिक वर्ष २०७७/७८ मा नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार २१ खर्ब २० अर्ब रुपैयाँ बराबरको थियो। तर आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा यो १७ खर्ब ४५ अर्ब रुपैयाँमा खुम्चिएको थियो। पछिल्ला दुई वर्षमा आयात ३ खर्ब २८ अर्बले र निर्यात ४८ अर्बले घटेको थियो। चालु वर्षको सुरुमा पनि घट्दो व्यापारले चिन्ता थपेको थियो, तर अहिलेको सुधारले आशा जगाएको छ।
उत्पादनमुखी औद्योगिक क्रियाकलाप र गुणस्तरीय निर्यात नीतिले फड्को मार्दै नेपाल
भारतीय गुणस्तर चिह्न नपाउँदा समस्या झेलेका उत्पादनमुखी उद्योगहरू अब विस्तारमा लागेका छन्। चैतबाट यस्तो उत्पादनहरूको पनि निर्यात बढ्न थालेको छ। यो प्रवृत्तिले नेपालको समग्र आर्थिक कारोबारमा सकारात्मक सन्देश दिएको छ।
यस्तो छ पछिल्लो ६ महिनाको आयात निर्यात-