Date

बुध, बैशाख १७, २०८२
Wed, April 30, 2025

अमेरिकी प्रतिबन्धलाई चिर्दै हुआवेको शक्तिशाली चिप: एनभिडियालाई सीधा चुनौती

अमेरिकी प्रतिबन्धलाई चिर्दै हुआवेको शक्तिशाली चिप: एनभिडियालाई सीधा चुनौती

काठमाडौं, १६ वैशाख । दशकौं लामो अमेरिकी प्रतिबन्धको बाबजुद चिनियाँ प्रविधि कम्पनी हुआवे टेक्नोलोजिज ले एक शक्तिशाली आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रोसेसर उत्पादन गरी प्रविधि दुनियाँमा नयाँ बहसको थालनी गरेको छ।

हुआवेले सार्वजनिक गरेको ‘एसेन्ड ९१० डी’ नामक यो एआई चिप अमेरिकी माइक्रोचिप कम्पनी एनभिडिया लाई सीधा टक्कर दिनेगरी डिजाइन गरिएको बताइएको छ। एनभिडिया हालसम्म एआई चिप प्रविधिमा विश्वकै अग्रणी कम्पनी मानिन्छ, जसका चिपहरू च्याट जीपीटी लगायतका प्रमुख एआई प्रणालीमा प्रयोग भइरहेका छन्।

द वाल स्ट्रिट जर्नल लगायतका अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार हुआवेले यो चिप केही चिनियाँ कम्पनीलाई परीक्षणका लागि उपलब्ध गराउने तयारी गरिरहेको छ। कम्पनीको दाबी अनुसार एसेन्ड ९१० डी चिप एनभिडियाको एच१०० भन्दा शक्तिशाली हुनेछ।

हुआवे त्यही कम्पनी हो जसलाई अमेरिकाले ५जी प्रविधि विकासमा अग्रसर देखेपछि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै प्रतिबन्धको सूचीमा राखेको थियो। अमेरिकाले न केवल हुआवेलाई आफ्ना उत्पादन बेच्न नदिने निर्णय गर्‍यो, हुआवेसँग व्यापार गर्ने आफ्नै कम्पनीहरूको पनि अनुमति खारेज गर्‍यो।

यो स्थितिका कारण विश्वको लोकप्रिय स्मार्टफोन ब्रान्ड मध्येको एक रहिसकेको हुआवे केही वर्ष अघिसम्म बजारबाट लगभग हराएको थियो। तर, अब हुआवे आफ्नो प्रविधिक क्षमता र अनुसन्धान बलमा पुनः बजारमा ‘बाउन्स ब्याक’ गर्दैछ।

केही महिना अघि अर्का चिनियाँ कम्पनीले बनाएको एआई टुल्स ‘डीपसिक’ ले पनि एआई क्षेत्रमा चीनको सम्भावनाबारे संसारको ध्यान तानेको थियो। यसले एनभिडियाको सेयरमा समेत तत्काल नकारात्मक असर पारेको थियो।

हुआवे मात्र होइन, हाल चीन सरकार आफ्ना कम्पनीहरूलाई प्रविधिमा आत्मनिर्भर बनाउने रणनीतिमा अघि बढिरहेको छ। एआई, चिप डिजाइन, सैन्य प्रविधि लगायतका क्षेत्रमा निजी कम्पनीहरूलाई अर्बौं डलरको अनुदान दिइँदै आएको छ।

यस घटनासँगै प्रविधिको क्षेत्र पनि अब अमेरिका र चीनबीचको प्रतिस्पर्धाको नयाँ रणभूमि बन्ने संकेत देखिएको छ। एनभिडियासँगको प्रत्यक्ष प्रतिस्पर्धा सम्भवतः ग्लोबल एआई इकोसिस्टममा पनि प्रभाव पार्नेछ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *