Date

मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025

सेयर प्रतिफलमा एभरेष्ट बैंक शीर्ष स्थानमा, एनआईसी, कुमारी र हिमालयन पछाडि परे

सेयर प्रतिफलमा एभरेष्ट बैंक शीर्ष स्थानमा, एनआईसी, कुमारी र हिमालयन पछाडि परे

काठमाडाैं, १६ वैशाख । नेपालका वाणिज्य बैंकहरूको व्यवस्थापकीय कुशलता र सेयर पूँजी परिचालनको दक्षता मापन गर्ने एउटा महत्त्वपूर्ण सूचक सेयर प्रतिफल (Earnings per Share – EPS) मा एभरेष्ट बैंक शीर्ष स्थानमा उभिएको छ। चालू आर्थिक वर्षको नौ महिना सकिँदासम्मको तथ्यांकअनुसार एभरेष्ट बैंकले सेयरधनीको एक कित्ता सेयरमा १५ रुपैयाँ ८२ पैसा प्रतिफल आर्जन गरेको छ।

यो प्रतिफल दर अन्य सबै वाणिज्य बैंकहरूको तुलनामा सबैभन्दा उच्च हो। गएको वर्ष शीर्ष स्थानमा रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंक यसपटक दोस्रो स्थानमा झरेको छ, जसले प्रतिकित्ता १४ रुपैयाँ ३ पैसा कमाएको छ।

त्यसपछि नबिल बैंक, एनएमबी बैंक, सानिमा बैंक र नेपाल बैंक पनि क्रमशः प्रतिस्पर्धी रहँदै, प्रतिकित्ता १० रुपैयाँभन्दा माथिको प्रतिफल आर्जन गर्न सफल भएका छन्। यी बैंकहरूको व्यवस्थापनले सेयर पूँजी परिचालनमा अपेक्षाकृत राम्रो कार्यक्षमता प्रदर्शन गरेको देखिन्छ।

नेपाल इन्भेष्टमेन्ट बैंक र ग्लोबल आईएमई बैंक जस्ता बढी पूँजी भएका बैंकहरूले पनि करिब साढे ९ रुपैयाँको हाराहारीमा प्रतिफल आर्जन गरेका छन्।

अर्कातर्फ, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, प्रभू बैंक, प्राइम बैंक, कृषि विकास बैंक र सिटिजन्स बैंक ले प्रतिकित्ता साढे ८ देखि साढे ५ रुपैयाँ बीचको प्रतिफल कमाएका छन्। यी बैंकहरूलाई ‘निम्नमध्यम’ स्तरको कार्यसम्पादन भएको मूल्यांकन गरिएको छ।

लक्ष्मी सनराइज बैंक ले पनि ५ प्रतिशतभन्दा बढी प्रतिफल आर्जन गरेको छ।

तर, प्रायः सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक ले भने करिब ३ प्रतिशत मात्र प्रतिफल दिएको छ, जुन तुलनात्मक रूपमा निकै कम हो।

प्रतिफलमा सबैभन्दा पछाडि रहेका बैंकहरूमा हिमालयन बैंक, कुमारी बैंक र एनआईसी एसिया बैंक छन्। यी बैंकहरूले निष्कृय कर्जा वृद्धि र सम्भावित जोखिमका लागि बढी रकम छुट्याउनु परेपछि आफ्नो प्रतिफलमा ठूलो गिरावट भोग्नुपरेको छ। विश्लेषकहरूका अनुसार भविष्यमा यदि यी बैंकहरूले समस्याग्रस्त कर्जा असुल गर्न सके भने प्रतिफल दरमा पुनः सुधार आउन सक्नेछ।

सेयर प्रतिफलले कम्पनीको खुद सम्पत्तिमा आर्जित आम्दानी कति हो भन्ने स्पष्ट पार्ने भएकाले बैंकमा लगानी गर्दा लगानीकर्ताका लागि ठूलो निर्णय कारक बन्छ। हालका लागि हेर्दा, एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्डका लगानीकर्ताले तुलनात्मक रूपमा राम्रो प्रतिफल प्राप्त गरिरहेछन् भने एनआईसी, कुमारी र हिमालयनका लगानीकर्तालाई तुलनात्मक घाटा भएको देखिन्छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *