म्युचुअल फन्डमा ‘नाफा घाटाको चैत’: लगानी घट्यो, न्याभ र प्रतिफल दुवै ओरालो

काठमाडाैं, १८ वैशाख । चैत महिनामा सार्वजनिक विवरणअनुसार नेपालका सामूहिक लगानी कोष (म्युचुअल फन्ड)हरूको वित्तीय अवस्था कमजोर देखिएको छ। शेयर बजारमा देखिएको लगातारको उतारचढावले फन्डहरूको नाफा, लगानी र प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) मा नकारात्मक असर पारेको देखिन्छ। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ४३ वटा म्युचुअल फन्डमध्ये अधिकांशको ब्यालेन्ससिट सकारात्मक रहन सकेन। गत फागुनको तुलनामा चैतमा फन्डहरूको औसत नाफा २७.५५ प्रतिशतले घटेर ३ अर्ब ४० करोड ९९ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो महिनाको ४ अर्ब ७० करोड ६६ लाख रुपैयाँभन्दा करिब १ अर्ब ३० करोडले कम हो।
त्यस्तै, शेयर बजारमा गरिएको कुल लगानीमा पनि ९.१८ प्रतिशतको गिरावट आएको छ। फागुनमा फन्डहरूले ४२ अर्ब २७ करोड रुपैयाँभन्दा बढी लगानी गरेका थिए भने चैतमा त्यो घटेर ३८ अर्ब ३९ करोड रुपैयाँमा सीमित भयो। करिब दुई दर्जन फन्डको लगानी घटेको देखिएको छ भने केही फन्डले भने सामान्य मात्रामा लगानी बढाएका छन्। सबैभन्दा बढी लगानी एनएमबि सरल बचत फन्ड ईको छ, जसले चैतमा २ अर्ब ६६ करोड रुपैयाँ लगानी गरेको छ – यो फागुनको तुलनामा ६.६५ प्रतिशत बढी हो।
नाफाको हिसाबले पनि आधा दर्जन फन्डहरू नोक्सानीमा गएका छन्। एनआइबिएल समृद्धि फन्ड–२ ले १९ करोड ११ लाख रुपैयाँ नोक्सान व्यहोरेको छ भने अन्य नोक्सानीमा गएका फन्डमा मेगा म्युचुअल फन्ड–१, एनआइबिएल स्टेबल फन्ड, गरिमा समृद्धि योजना, र कुमारी सबल योजना छन्। चैत महिनामा नाफा बढाउने एक पनि फन्ड छैन, सबै फन्डको नाफा दोहोरो अंकमा घटेको छ। यद्यपि, प्रभू सेलेक्ट फन्डले सबैभन्दा धेरै २२ करोड ८ लाख रुपैयाँ नाफा कमाउँदै अग्रस्थानमा रहन सफल भएको छ।
न्याभको सन्दर्भमा पनि सबै फन्डको मूल्य घटेको छ। औसत न्याभ ०.२६ रुपैयाँले घटेर १०.६२ रुपैयाँमा झरेको छ। सबैभन्दा उच्च न्याभ हिमालयन ८०–२० फन्डको १२.४६ रुपैयाँ रहेको छ भने प्रभू स्मार्ट फन्डको १२.३८, प्रभू सेलेक्ट फन्ड र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड सेकेन्ड दुवैको १२.२७ रुपैयाँ छ। चैतमा १८ वटा फन्डको न्याभ ११ रुपैयाँभन्दा माथि रहे पनि दुई वटा फन्डको न्याभ भने १० रुपैयाँभन्दा तल झरेको छ।