Date

शुक्र, बैशाख १९, २०८२
Fri, May 2, 2025

ट्रम्पको दबावमा अमेजनले भन्सारका कारण बढेको भाउ उल्लेख गर्ने योजना स्थगित गर्‍यो

ट्रम्पको दबावमा अमेजनले भन्सारका कारण बढेको भाउ उल्लेख गर्ने योजना स्थगित गर्‍यो

काठमाडाैं, १८ वैशाख । अमेरिकी खुद्रा विक्रेता अमेजनले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भन्सारका कारण बढेको मूल्य उपभोक्तालाई स्पष्ट रूपमा जानकारी दिने योजना स्थगित गरेको छ। यसअघि विभिन्न समाचार संस्थाहरूले अमेजनले ट्रम्पको भन्सार नीतिका कारण सामानको मूल्यमा आएको वृद्धिलाई स्पष्ट रूपमा उल्लेख गर्ने योजना बनाएको बताएका थिए। तर ट्रम्पको प्रत्यक्ष दबाव र प्रशासनको आलोचना पछि अमेजनले उक्त योजना फिर्ता लिएको हो।

राष्ट्रपति ट्रम्पले अप्रिल २ मा विश्वका सबै देशलाई १० प्रतिशत भन्सार महसुल लगाउने र प्रतिस्पर्धी मुलुकहरूलाई अझ उच्च ‘रेसिप्रोकल’ महसुल लगाउने घोषणा गरेका थिए। चीनलाई ३४ प्रतिशत, भारतलाई २७ प्रतिशत, र युरोपियन युनियनलाई २० प्रतिशत भन्सार तोकिएको थियो। आठ देशलाई ४० प्रतिशतभन्दा बढी महसुल लगाइएको थियो। यद्यपि ७० भन्दा बढी देशलाई ट्रम्पले ९० दिनका लागि पारस्परिक भन्सार रोकेका थिए। ती देशहरूले अमेरिकी कर नीतिको विरोध नगरेको र छलफलका लागि तयार रहेको कारण जुलाईको पहिलो सातासम्मका लागि मात्र विश्वव्यापी १० प्रतिशत दर कायम गरिएको हो।

चीनमाथि भने ट्रम्प प्रशासनको भन्सार नीतिमा कडाइ जारी रह्यो। दोस्रो कार्यकालमा चिनियाँ वस्तुमा लगाइएको कुल भन्सार महसुल १४५ प्रतिशत पुगेको छ, भने चीनले जबाफमा अमेरिकी सामानमा १२५ प्रतिशतसम्म महसुल बढाएको छ। यसले गर्दा अमेरिकामा आयात हुने अधिकांश वस्तुको मूल्यमा वृद्धि आएको छ।

यही सन्दर्भमा, अमेजनले वस्तुको मूल्यमा ट्रम्पले लगाएको भन्सारका कारण आएको वृद्धि पनि उल्लेख गर्ने विचार बनाएको थियो। यसबारे समाचार बाहिरिएपछि राष्ट्रपति ट्रम्पले अमेजनका मालिक जेफ बेजोसलाई फोन गरेर असन्तुष्टि जनाएका थिए। साथै, ट्रम्प प्रशासनका अधिकारीहरूले यसलाई राजनीतिक र शत्रुतापूर्ण कार्य भनेर आलोचना गरेका थिए।

त्यसपछि अमेजनले योजना नै नभएको दाबी गर्दै पछि हटेको हो। यद्यपि अमेरिकी अनलाइन मिडिया Axios का अनुसार प्रारम्भिक रूपमा योजना बनाइएको भए पनि त्यसको औपचारिक स्वीकृति नभएको र अब कार्यान्वयन नहुने स्पष्ट गरिएको छ।

ट्रम्पसँगको सम्बन्ध सुधार्न जेफ बेजोसको प्रयास पछिल्लो समय देखिएको छ। उनका स्वामित्वमा रहेको द वासिङ्टन पोस्टले यसपटक राष्ट्रपतीय उम्मेदवारलाई समर्थन नगर्ने निर्णय गरेको थियो, जुन अमेरिकी मिडिया परम्परासँग विपरीत हो। १९७६ देखि प्रायः सबै चुनावमा कुनै न कुनै उम्मेदवारलाई समर्थन गर्दै आएको पोस्टले यो कदम चालेपछि सम्पादकीय बोर्डसहित धेरै कर्मचारीले असहमति जनाएका थिए।

बेजोसले ट्रम्पको शपथ समारोहमा ठूलो चन्दा दिएको, नासासँग ३.४ अर्ब डलरको सम्झौता पाएको ब्लु ओरिजिनका प्रमुख कार्यकारीले ट्रम्पसँग भेट गरेको दिन पोस्टले समर्थन नगर्ने घोषणा गरेको, र ट्रम्पलाई खुश पार्न मेलानिया ट्रम्पबारे डकुमेन्ट्री बनाउन अमेजनले ४ करोड डलर खर्च गर्ने निर्णय समेत लिएको विवरणहरू पनि बाहिर आएका छन्।

यी सबै घटनाक्रमले देखाउँछ कि ट्रम्पको राजनीतिक दबाब र कारोबारी स्वार्थबीच झुकेर अमेजनले उपभोक्ताको जानकारी अधिकारलाई पछाडि पारेको छ। भन्सारका कारण मूल्य वृद्धिमा पारदर्शिता अपनाउने प्रयास अन्ततः राजनीतिक दबाबका कारण स्थगित भएको हो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *