Date

सोम, बैशाख २२, २०८२
Mon, May 5, 2025

“अनौपचारिक क्षेत्रका श्रमिकको पीडा सामूहिक कथा हो” — मन्त्री नवलकिशोर साह

“अनौपचारिक क्षेत्रका श्रमिकको पीडा सामूहिक कथा हो” — मन्त्री नवलकिशोर साह

काठमाडाैं, २२ वैशाख । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुदीले अनौपचारिक क्षेत्रमा संलग्न श्रमिकहरू श्रम शोषण, अन्याय, असमानता र अदृश्यताको सामूहिक कथाका पात्र भएको बताएका छन्।

आज राजधानीमा सुरु भएको दुईदिने “जलवायु परिवर्तन र मर्यादित श्रम अभियान – २०२५” को उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा मन्तव्य दिंदै मन्त्री सुदीले संविधानले सुनिश्चित गरेका अधिकारहरू — जस्तै गरिमा साथ बाँच्ने अधिकार, समानताको अधिकार, श्रम अधिकार, महिला अधिकार र अनौपचारिक क्षेत्रका श्रमिकको अधिकार — व्यवहारमा कार्यान्वयन गरिनु पर्नेमा जोड दिए।

“यी अधिकारहरू कार्यान्वयनमा ल्याउनु सरकार, नागरिक समाज र श्रमिक स्वयंको साझा जिम्मेवारी हो,” मन्त्री सुदीले भने। उनले थपे, “श्रम अधिकार केवल मानव अधिकारको कुरा होइन, यो आर्थिक न्याय र समानताको विषय पनि हो।”

मन्त्री सुदीले प्रस्तुत गरेको तथ्यांक अनुसार, नेपालमा ८५ प्रतिशतभन्दा बढी श्रमिकहरू अनौपचारिक क्षेत्रमा कार्यरत छन्, र तीमध्ये ९० प्रतिशतभन्दा बढी महिला छन्। “श्रम अधिकार सुनिश्चित नगरी, मर्यादित श्रमको व्यवस्था नगरी र जलवायु न्याय नदिई दिगो विकास लक्ष्य (SDG) हासिल हुन सक्दैन,” मन्त्री सुदीले स्पष्ट पारे।

उनले सरकार नागरिक समाज, श्रमिक र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै श्रमिकहरूको आवाज सुन्न र सम्बोधन गर्न प्रतिबद्ध रहेको पनि जानकारी दिए। साथै उनले श्रमिकहरूलाई अझ संगठित भई आफ्नो अधिकारको आवाज बुलन्द गर्न आग्रह गरे।

कार्यक्रममा प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिका सदस्य सन्तोष परियारले मे ५ (वैशाख २२) को ऐतिहासिक महत्व उल्लेख गर्दै भने, “यो कार्ल मार्क्सको जन्मदिन हो। यदि हामी समाजमा परिवर्तन चाहन्छौँ भने महिला, दलित, आदिवासी र श्रमिक समुदायको आवाज बुलन्द गर्न आवश्यक छ।”

मानव अधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद शर्मा ढुंगेलले अनौपचारिक क्षेत्रका श्रमिकहरू लामो समयदेखि शोषणमा परिरहेको स्वीकार गर्दै यस्तो आवाज संसद लगायत सबै मञ्चहरूमा उठाइरहनुपर्ने बताए।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य कुसुम देवी थापाले जलवायु संकटले अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई झन् बढी प्रभावित बनाएको उल्लेख गर्दै समितिबाट यस्ता श्रमिकहरूसँग सहकार्य गरी सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाइन्।

दुईदिने यो कार्यक्रम नेपाल महिला एकता समाज, युथ एड्भोकेसी नेपाल र एक्शन एडको संयुक्त आयोजना हो, जसलाई विभिन्न ५३ संस्थाहरूको सहयोग प्राप्त भएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *