बागमती प्रदेशमा १० महिनामा ३८.९१ प्रतिशत मात्र बजेट खर्च, पर्यटन मन्त्रालयको खर्च सबैभन्दा न्यून

काठमाडाैं, ४ जेष्ठ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा जम्मा ३८.९१ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ। साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा प्रदेश सरकारले पुँजीगत खर्चमा ३५.०१ प्रतिशत र चालू खर्चमा ४६.७९ प्रतिशत खर्च गरेको छ।
आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालका अनुसार चालु आर्थिक वर्षमा प्रदेश सरकारले पुँजीगत खर्चतर्फ १३ अर्ब २७ करोड रुपैयाँ र चालू खर्चतर्फ १२ अर्ब ८७ करोड रुपैयाँ गरी जम्मा २५ अर्ब ११ करोड ४७ लाख रुपैयाँ मात्र खर्च गरेको छ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। तर, पुँजीगत खर्चको हिस्सा चालू खर्चभन्दा पनि कम रहेको सञ्ज्यालले बताए।
प्रदेश सरकारका विभिन्न निकायमध्ये प्रदेश प्रमुख कानूनी सल्लाहकारको कार्यालयले सबैभन्दा बढी ६८.९२ प्रतिशत बजेट खर्च गरेको छ। अर्कोतर्फ, संस्कृति तथा पर्यटन मन्त्रालयले सबैभन्दा कम १६.४८ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ।
चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट ४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको थियो। तर, वैशाख मसान्तसम्म जम्मा ३ अर्ब ७३ करोड ८७ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको छ।
सञ्ज्यालका अनुसार अचल सम्पत्ति (जग्गा) र नयाँ सवारी साधनको कारोबारमा गिरावट आएकोले आन्तरिक राजस्व संकलनमा प्रतिकूल प्रभाव परेको छ। उनले बजारमा भएको आर्थिक तरलता (लिक्विडिटी) संकटले सम्पत्ति कारोबार र सवारी साधन खरिदमा कमी ल्याएको बताए।
प्रदेश सरकारका लागि आगामी दुई महिनामा बजेट खर्च र राजस्व संकलनका लक्ष्यहरू पूरा गर्न चुनौतीपूर्ण रहेको छ। असार मसान्तसम्म बजेट कार्यान्वयनलाई तीव्रता दिने योजनामा प्रदेश सरकारले विभिन्न मन्त्रालयलाई निर्देशन दिएको छ।