Date

आइत, जेष्ठ ४, २०८२
Sun, May 18, 2025

०८२ मा नेपाली अर्थतन्त्रको प्रक्षेपण

०८२ मा नेपाली अर्थतन्त्रको प्रक्षेपण

०८१ सालको अर्थतन्त्र समग्रमा सुधारात्मक रह्यो । यद्यपि, केही क्षेत्रहरू अहिले पनि, त्यो वर्ष पनि दबाबमै रहे, तर मुलुक अप्ठ्यारो स्थितिमा पर्छ या हामी कुनै संकटमा पर्छौँ कि भन्ने अवस्थाबाट संकटमुक्त भएर आगामी दिनका लागि दरिलो आर्थिक वृद्धिको जग तयार भएको छ । अर्थतन्त्रमा मजबुत वृद्धिका लागि कसरी बलियो जग बन्यो भन्ने सम्बन्धमा चारवटा पक्षमा विश्लेषण गर्नुपर्छ ।

पहिलो, सरकारको वित्त प्रणाली पहिलेभन्दा सुदृढ भएको छ । अघिल्ला वर्षहरूमा राजस्वको वृद्धि नकारात्मक थियो । पछिल्लो समयमा राजस्वको वृद्धि सकारात्मक हुँदै आएको छ । सरकारको खर्चमा सामान्य मात्र वृद्धि भए पनि खर्चको गुणस्तरमा केही सुधार भएको छ । सरकारले  पुराना दायित्व फरफारक गर्दै आएको छ र नयाँ दायित्व सिर्जना नगर्ने तहमा बसेको छ । समग्रमा सरकारी वित्तको सन्तुलन सुधारोन्मुख छ । दोस्रो, समग्र मूल्य स्थिति सहज अवस्थामा छ । तल्लो १ अंकको मूल्यवृद्धि भनेको धेरै वर्षपछाडि पाँच प्रतिशतभन्दा कमको मुद्रास्फीति कायम हुन सकेको छ । यसले खासगरी व्यावसायिक जगत्लाई र बचतकर्तालाई प्रोत्साहित गरेको हुनुपर्दछ । तेस्रो, विषय भनेको त्यसको बाह्य क्षेत्र हो । बाह्य क्षेत्रमा हाम्रा परिसूचक राम्रा छन् । पर्यटनबाट हुने आम्दानी राम्रो भएको छ ।

विप्रेषणको आम्दानी राम्रो भएको छ । सरकारको समग्र बाह्य क्षेत्र कारोबारमा चालू खाता सन्तुलनमा छ, तैपनि निर्यातचाहिँ केही वर्षअगाडिको तहमा पनि पुग्न सकेको छैन । पछिल्लो वर्षमा भएको निर्यातको वृद्धि उत्साहप्रद छ । तर, त्यो वृद्धिले हाम्रो व्यापार घाटालाई कम गर्नलाई खासै योगदान पु¥याउने स्थितिमा अहिले पुगिसकेको छैन । विदेशी मुद्राको सञ्चिति बढेको छ । तर, लगानीको वातावरण खुम्चेका कारण र विदेशी मुद्रा खर्च हुने ठाउँमा लगानी बढ्न नसकेका कारण थुप्रिएको छ । त्यसले अबका दिनमा लगानीलाई उत्साहप्रद ढंगले अगाडि बढाउन र आक्रामक ढंगले निजी क्षेत्रले आफ्नो क्रियाकलाप अघि बढाउनलाई ठाउँ दिएको छ । अहिले सरकारको समग्र आर्थिक प्रणालीमा सुधारका कुराहरू अघि बढेका छन् । अध्यादेशमार्फत पनि धेरै आर्थिक सुधारका विषय सम्बोधन भएका छन् । सबैभन्दा राम्रो पक्ष भनेको वित्तीय क्षेत्रमा अहिले स्थायित्व देखिँदै छ । चौथो, ब्याजदरहरू तल्लो अंकतिर आउन थालिसकेका छन् ।

त्यसैगरी बैंकहरूमा अधिक तरलताको स्थितिले गर्दाखेरि लगानीयोग्य रकमको अहिले अभाव छैन । लगानीकर्तामा विश्वासको वातावरण बन्दै छ, जसका कारण अबका दिनमा सस्तो ब्याजदर र तरलताको उपलब्धताले बजार चलायमान हुने स्थिति देखिँदै छ । उत्पादनतर्फ हेर्ने हो भने समग्रमा आर्थिक वृद्धि पाँच प्रतिशतको वरिपरि भएको कुरा यो ०८१÷८२ आर्थिक वर्षको दोस्रो त्रैमासिकको विवरणबाट हामीलाई थाहा भइसकेको छ । र समग्रमा यो आर्थिक वर्षभरि नै पाँच प्रतिशतको आर्थिक वृद्धि रहने अनुमान राम्रै हो ।

यसअघिको त्रैमासमा निर्माण र औद्योगिक उत्पादन क्षेत्रको आर्थिक वृद्धि नकारात्मक थियो, त्यो अहिले सकारात्मक भएको छ । अर्थतन्त्रका सबै क्षेत्रहरूको वृद्धि सकारात्मक भएको छ । यति भनिरहँदा पनि अर्थतन्त्रमा केही चाप बाँकी छन् । हिजो सिर्जना भएका दायित्व ६ खर्ब रुपैयाँभन्दा बढीको स्रोतविनाको दायित्व सरकारसामु छ । यो दायित्वलाई फस्र्योट गर्ने जिम्मेवारी लिएर अर्थ मन्त्रालयले कतिपय अवस्थामा आलोचना पनि खेप्नुपरेको छ । कतिपय भुक्तानीहरू सरकारले अझै पनि दिन बाँकी छ, जस्तै, निर्यात अनुदानको पैसा होस्, भ्याट फिर्ताको पैसा होस् कृषि अनुदानको रकम होस् अथवा अरू कतिपय स्वास्थ्य बिमालगायतको दायित्वहरू सरकारमाथि छ ।

त्यसैले ०८२ साल आफैँमा फेरि सम्पूर्ण दायित्वमुक्त भएको वर्षका रूपमा भने रहने छैन । त्यसो हुनाले सरकारले राजस्व परिचालनमा बढी जोड दिएर निजी क्षेत्रलाई लगानीको वातावरण बनाएर अब स्रोतहरूको विनियोजन सही र कुशल ढंगले गरेर अघि बढ्यौँ भने आगामी आर्थिक वर्षका लागि ०८१ सालचाहिँ एउटा बलियो जग बन्न सकेको छ ।
(प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. खतिवडासँगको कुराकानीमा आधारित)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *