Date

आइत, जेष्ठ ४, २०८२
Sun, May 18, 2025

वातावरण र स्वास्थ्यलाई जोगाउन तुरुन्त कदम चाल्न आवश्यक: राज्यमन्त्री रूपा बीके

वातावरण र स्वास्थ्यलाई जोगाउन तुरुन्त कदम चाल्न आवश्यक: राज्यमन्त्री रूपा बीके

काठमाडाैं, ४ जेष्ठ । वन तथा वातावरण राज्यमन्त्री रूपा बीकेले तीव्र शहरीकरण र जनसङ्ख्या वृद्धिले वायुको गुणस्तरमा ह्रास आएको बताउँदै यस समस्याको समाधानका लागि तत्काल उपायहरू अपनाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ।

सगरमाथा संवादको तेस्रो तथा अन्तिम दिन आयोजित ‘जलवायु परिवर्तन कार्यमा वित्तीय चुनौती र दिगो विकासको समाधान’ शीर्षकको छलफलमा बोल्दै राज्यमन्त्री बीकेले वायु प्रदूषणले जनताको औसत आयुमा समेत ह्रास आएको बताउनुभयो।

“वायु प्रदूषण हामीले सामना गरिरहेको एउटा प्रमुख चुनौती हो। यसले हाम्रो स्वास्थ्य, वातावरण र अर्थतन्त्रलाई समेत प्रभावित बनाइरहेको छ,” उहाँले भन्नुभयो। “दक्षिण एसिया वायु प्रदूषणको केन्द्र बन्दै गइरहेको छ र यहाँका धेरै सहरहरू विश्वकै सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पर्ने गरेका छन्।”

नेपालले कम कार्बनयुक्त सार्वजनिक सवारीसाधनको प्रवर्द्धन, कडा सवारीसाधन उत्सर्जन मापदण्डहरूको कार्यान्वयन र विद्युतीय गतिशीलताको विकासमार्फत वायुको गुणस्तर सुधारमा योगदान दिएको उहाँले जानकारी दिनुभयो।

राज्यमन्त्रीका अनुसार काठमाडौं उपत्यका वायु प्रदूषण व्यवस्थापन कार्ययोजना (२०२०) र राष्ट्रिय वातावरण नीति (२०१९) सरकारले वायु प्रदूषणविरुद्धको रणनीतिक संघर्षका रुपमा अघि सारेका महत्त्वपूर्ण योजनाहरू हुन्।

उहाँले वातावरण विभागले रियल टाइम वायु गुणस्तर अनुगमनको विस्तार गर्दै डेटा जनतालाई अझै सुलभ बनाएको उल्लेख गर्नुभयो। “वनमा लागेको आगोले पनि वायु प्रदूषण बढाउन भूमिका खेलिरहेको छ। मानिसहरू गाउँ छोडेर शहर पस्न थालेपछि वन क्षेत्रको उचित व्यवस्थापन हुन सकेको छैन। यस्तो अवस्थामा प्रयोगविहीन बायोमासले आगलागीका घटनाहरू बढाइरहेको छ, जसले वायु प्रदूषणमा वृद्धि गरिरहेको छ,” उहाँले जानकारी दिनुभयो।

नयाँ, तर उदीयमान जोखिमका रूपमा रहेको वन आगलागीलाई समेत समेटेर समग्र वायु गुणस्तर रणनीतिहरूमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ।

वायु प्रदूषण सिमानापारि समेत असर पुर्याउने समस्या भएकाले यसलाई सम्बोधन गर्न सामूहिक डेटा, नीतिहरू र उत्कृष्ट अभ्यासमा आधारित सुदृढ क्षेत्रीय सहकार्यको खाँचो रहेको उहाँले बताउनुभयो।

“हामीले दिगो लगानी सुनिश्चित गर्नुपर्छ,” राज्यमन्त्री बीकेले भन्नुभयो। “सामूहिक प्रयासबाट दिगो र दीर्घकालीन समाधानका उपायहरू अवलम्बन गर्न आवश्यक छ।”

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *