Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

सारसको अस्तित्व संकटमा: कञ्चनपुर र कैलालीमा संख्या घट्दो, संरक्षणमा चासो आवश्यक

सारसको अस्तित्व संकटमा: कञ्चनपुर र कैलालीमा संख्या घट्दो, संरक्षणमा चासो आवश्यक

काठमाडौं, ८ जेष्ठ । कञ्चनपुर र कैलाली क्षेत्रमा विगतका वर्षहरूमा सहजै देखिने सारस (Sarus crane)को संख्या हरेक वर्ष घट्दो क्रममा रहेको छ। विशेष गरी दलदली क्षेत्र र खेतीयोग्य जमिनहरूमा देखिने यी चराहरू अहिले विरलै देखिन थालेका छन्। यसका प्रमुख कारणहरूमा दलदली भूमिको विनाश, रासायनिक मल र विषादीको अत्यधिक प्रयोग, र पर्यावरणीय असन्तुलन मुख्य रूपमा रहेका छन्।

नेपाल चराचुरुंगी संरक्षण संघका चराविज्ञ हिरुलाल डगौराका अनुसार, कृषकहरूले अत्यधिक मात्रामा रासायनिक मल र विषादी प्रयोग गर्न थालेपछि सारसको आहार, प्रजनन र बसोबासमा प्रत्यक्ष असर परेको छ। साथै, सारसको सिकार, अण्डा चोरी, जलवायु परिवर्तन र वातावरणीय प्रदूषणले पनि यो प्रजातिलाई थप संकटमा पारिरहेको छ।

डगौराका अनुसार हाल कैलालीमा ५ र कञ्चनपुरमा अधिकतम २२ वटा सारस मात्र फेला परेका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कालिकिच ताल, बेलडाँडी गाउँपालिकाको दलदली क्षेत्र, र कैलालीको घोडाघोडी तालसहितको रामसार साइटमा केही सारस देखिने गरेका छन्। बर्खाको समयमा कहिलेकाहीं धानबाली भएका खेतहरूमा पनि आहारको खोजीमा देखा पर्न सक्छन्।

सारस चराले बालीलाई हानी गर्ने किराहरू खाइदिने भएकाले कृषकहरूका लागि उपयोगी मानिन्छ। किराको नियन्त्रण हुँदा उत्पादनमा वृद्धि हुने भएकाले यो चरालाई ‘किसानमैत्री’ चराको रूपमा लिइन्छ। साथै, बाघ, चितुवा, स्याल, बँदेलजस्ता वन्यजन्तुहरू नजिकिँदा सारसले ठूलो आवाजमा खबरदारी दिने हुँदा यो मानवरक्षक चराको रूपमा पनि चिनिन्छ।

सारसले प्रायः धान खेत र दलदली क्षेत्रमा गुँड बनाउने र आहार लिने गर्छ। तर, पछिल्ला दिनमा यसको संख्या घट्दै जानुले यो चराको अस्तित्व नै संकटमा परेको स्पष्ट हुन्छ। त्यसैले, स्थानीय तह र समुदायले दलदली क्षेत्रको संरक्षणमा विशेष चासो दिनु आवश्यक छ। सारसको महत्व, बानी व्यवहार र आवाससम्बन्धी जानकारीका लागि स्थानीयवासीमा जनचेतना अभिवृद्धि गरिनु जरुरी भएको डगौराको सुझाव छ।

सारस चरा नेपाल सरकारको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित चराको सूचीमा पर्दछ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) ले यसलाई ‘अत्यन्तै संकटमा पर्ने’ प्रजातिका रूपमा सूचीबद्ध गरेको छ। उपलब्ध तथ्यांकअनुसार, रूपन्देही, कपिलवस्तु र नवलपरासीमा मात्रै ६०० भन्दा बढी सारस पाइन्छन् भने दक्षिण एसियामा यसको अनुमानित संख्या १०,००० को हाराहारीमा रहेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *