आर्थिक वर्ष २०८२/८३ का लागि भन्सार दर हेरफेर: खाद्य वस्तु सस्तो, विलासी र मदिराजन्य वस्तु महँगो

काठमाडाैं, १६ जेष्ठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न आयात वस्तुहरूमा लाग्दै आएको भन्सार दरमा महत्वपूर्ण हेरफेर गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै उपभोग्य, कृषि, मदिराजन्य र कच्चा पदार्थहरूमा लाग्ने भन्सार शुल्क पुनरावलोकन गरिएको जानकारी दिएका हुन्।
सरकारले उपभोग्य खाद्य सामग्रीमा भन्सार दर घटाउने निर्णय गरेको छ भने विलासी र मदिराजन्य वस्तुहरूमा शुल्क वृद्धि गरी आयात सन्तुलन कायम गर्ने र आन्तरिक राजस्व सन्तुलनमा ध्यान दिने प्रयास गरेको छ।
अर्थमन्त्री पौडेलका अनुसार, सरकारले उपभोग्य वस्तुको मूल्यमा सहजता ल्याउने र विलासी वस्तुको आयातमा नियन्त्रण ल्याउने उद्देश्य लिएको छ।
सस्तो हुने वस्तुहरू:
किसमिस (सार्क मुलुकबाट) – भन्सार दर ७.२५% बाट घटाएर ६ प्रतिशत
किसमिस (अन्य मुलुकबाट) – भन्सार दर १५% बाट घटाएर १० प्रतिशत
चुकन्दरको चिनी (सार्कबाहेक मुलुकबाट) – भन्सार दर ३० प्रतिशत बाट घटाएर १५ प्रतिशत
चुकन्दरको चिनी (सार्क मुलुकबाट) – ६ प्रतिशत यथावत
सख्खर र खुँदोजन्य पदार्थ – भन्सार दर ३० प्रतिशत बाट घटाएर १५ प्रतिशत
यी निर्णयहरूले आगामी दिनहरूमा यी वस्तुहरूको बजार मूल्यमा कमी आउने अनुमान गरिएको छ।
महँगो हुने वस्तुहरू:
बियर (माल्टबाट बनेको) – अहिले प्रतिलिटर २०० रुपैयाँ भन्सार लाग्दै आएकोमा अब मूल्यको ८० प्रतिशतको दरले भन्सार
ब्रान्डी – हाल प्रतिलिटर २,००० रुपैयाँ भन्सार लाग्दै आएकोमा अब १०० प्रतिशत भन्सार दर
ह्विस्की बनाउन प्रयोग हुने कच्चा पदार्थ – प्रतिलिटर १,५०० रुपैयाँबाट मूल्यको ८० प्रतिशत
स्पिरिट – प्रतिलिटर ६० रुपैयाँको सट्टा ३० प्रतिशत भन्सार दर
यथावत रहने वस्तुहरू:
बोधिचित्त दाना (विभिन्न मुलुकबाट) – ६ प्रतिशत
बोधिचित्त दाना (अन्य मुलुकबाट) – १० प्रतिशत