प्रतिनिधिसभा अध्यक्ष देवराज घिमिरेद्वारा अवरुद्ध संसद् खुलाउन पहल, दलहरूसँग संवाद सुरु

काठमाडौं, १६ जेष्ठ । प्रतिनिधिसभाका अध्यक्ष देवराज घिमिरेले अवरुद्ध भएको संघीय संसद्को प्रतिनिधिसभा बैठक पुनः सञ्चालन गर्न पहल सुरु गरेका छन्।
शुक्रबार अध्यक्ष घिमिरेले संघीय संसद्को प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल सुरु गरेका हुन्। अध्यक्ष घिमिरेको निजी सचिवालयका अनुसार, बिहान ११ बजे प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरी १२ बजे व्यवसाय सल्लाहकार समितिको बैठक बोलाइएको छ।
संसद्मा गृह मन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रमुख प्रतिपक्ष दलहरूबाट भएको अवरोधलाई समाधान गर्न अध्यक्ष घिमिरेले यो पहल सुरु गरेका हुन्।
हालै देखिएको भिसा प्रकरणका कारण गृह मन्त्रीमाथि प्रतिपक्षी दलहरूको आक्रोश बढ्दै गएको छ। यद्यपि, दलहरूले बजेट मन्तव्यका लागि संसद् चल्न दिने सहमति जनाए पनि त्यसपछि आन्दोलन जारी रहने संकेत दिएका थिए। सोही पृष्ठभूमिमा अध्यक्ष घिमिरेले गतिरोध अन्त्य गर्न छलफल सुरु गरेका हुन्।