Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

पुनर्निर्माण प्राधिकरणमा पुनः सुशील ज्ञवाली

पुनर्निर्माण प्राधिकरणमा पुनः सुशील ज्ञवाली

काठमाडौं, ३१ साउन । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको रुपमा पुनः सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । उनी यसअघि २०७२ पौषमा प्राधिकरणको प्रमुख कार्यकारी नियुक्त भई २०७३ साल पौष अन्तिसम्म प्राधिकरणमा थिए । ज्ञवालीलाई हटाएर तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेललाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बनाएको थियो । पोखरेल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहिलो प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । उनले सस्थागत संरचना प्राधिकरण सम्बन्धि कानून निर्माणमा महत्वपूर्ण काम गरेका थिए । तर संसद्मा पेश भएको प्राधिकरणसम्बन्धि विधेयक अनुमोदन हुन नदिई नेकपा एमालले उनको पद खोसेको थियो । अध्यादेशका आधारमा प्राधिकरण ऐन आएको भएपनि एमालेले संसद् चालु भएपछि ९० दिनभित्र उक्त अध्यादेश पारित हुनुपर्नेमा सो हुन दिएन ।
त्यसपछि केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारले ज्ञवालीलाई प्रमुख कार्यकारी बनाएको थियो । पुनः प्रचण्ड नेतृत्वको सरकारले उनलाई हटाएर पोखरेललाई ल्याए पनि पोखरेलले राजीनामा दिएर संसदीय निर्वाचनमा उम्मेदवा बनेपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ कार्तिक ६ मा पूर्व सचिव युवराज भुषाललाई प्राधिकरणको जिम्मेवारी सुम्पेको थियो । तर, निर्वाचनपछि बनेको ओली नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता लागू भएयताका सबै नियुक्ति खारेज गरिदिएपछि भुषाल प्राधिकरणबाट बाहिरिएका हुन् । त्यसपछि प्राधिकरणमा पुनः ज्ञवाली नियुक्त भएका छन् । उनले यसअघिको कार्यकालमा प्राधिकरणका लागि आवश्यक कार्यविधि , नीति नियम तथा पुनर्निर्माणको लागत अध्ययन जस्ता महत्वपूर्ण काम गरेका थिए । बैंकमार्फत् भूकम्पपीडित घरपरिवारलाई सरकारको घर पुनर्निर्माण अनुदान उनकै पालमा सुरु भएको थियो । यसबीचमा निजी आवास पुनर्निर्माणले गति लिएको भए पनि सम्पदा, स्वास्थ्य चौकी, सडक, पुल, विद्यालय, सरकारी भवन निर्माणका क्षेत्रमा दुई तिहाई पुनर्निर्माणका काम बाँकी नै छन् । सरकारले पाँच वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x