चालु खाता साढे २ खर्ब बचतमा, शोधनान्तर स्थिति पनि मजबुत

काठमाडाैं, २७ जेष्ठ । नेपालको चालु खाता तथा शोधनान्तर स्थिति सन्तोषजनक देखिएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो १० महिनासम्मको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्याङ्क सार्वजनिक गर्दै चालु खाता साढे २ खर्ब रुपैयाँभन्दा बढीले बचतमा रहेको जनाएको छ।
राष्ट्र बैंकका अनुसार चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम १९३ अर्ब ३१ करोड रुपैयाँ थियो। अमेरिकी डलरको हिसाबले हेर्दा पनि चालु खाता अघिल्लो वर्षको १ अर्ब ४५ करोड डलरको तुलनामा यस वर्ष १ अर्ब ८९ करोड डलरले बचतमा रहेको देखिएको छ।
यसैबीच, शोधनान्तर स्थिति (Balance of Payments) समेत उल्लेखनीय रूपमा सकारात्मक देखिएको छ। राष्ट्र बैंकको तथ्याङ्कअनुसार समीक्षावधिमा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ३९२ अर्ब ६४ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा यो वर्ष ३ अर्ब २३ करोडको शुद्ध बचत देखिएको छ भने अघिल्लो वर्ष यो २ अर्ब ९५ करोड डलर थियो।
त्यस्तै, समीक्षावधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो ५ अर्ब २६ करोड रुपैयाँ मात्र थियो। प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) मा पनि वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको १० महिनामा कुल १० अर्ब ६० करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ, जुन अघिल्लो वर्षको ७ अर्ब ५ करोड रुपैयाँभन्दा करिब ३ अर्बले बढी हो।