नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ४० अर्ब रूपैयाँ तान्ने

काठमाडाैं, २८ जेष्ठ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अत्यधिक तरलता व्यवस्थापन गर्न थप ४० अर्ब रूपैयाँ तान्ने भएको छ। यसका लागि केन्द्रिय बैंकले २१ दिन अवधिको निक्षेप संकलन गर्न लागेको हो।
बैंक तथा वित्तीय संस्थाहरूबाट बोलकबोल प्रक्रियामार्फत निक्षेप संकलन गरिनेछ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रूपैयाँ र अधिकतम रकम पाँच करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म सीमित गरिएको छ।
संकलन गरिएको निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी असार १८ गते हुनेछ। यसमा दिइने ब्याजदर पनि बोलकबोलको माध्यमबाट निर्धारण गरिनेछ। सहभागी संस्थाहरूले निक्षेप संकलनको प्रस्ताव बहुब्याजदरमा पनि दिन सक्नेछन्।
राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई मात्र उक्त निक्षेप संकलन उपकरणको बोलकबोलमा सहभागी हुन अनुमति दिएको छ।
बोलपत्रको मूल्याङ्कन गर्दा राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर भएका प्रस्तावहरूलाई प्राथमिकता दिनेछ। यदि एउटै ब्याजदरमा धेरै प्रस्तावहरू परे र ती प्रस्तावहरूबाट मागभन्दा बढी रकम आएको खण्डमा, रकमको बाँडफाँड प्रोराटा आधारमा गरिने व्यवस्था गरिएको छ।