सेयर धितो कर्जा ४६ प्रतिशतले बढ्दा बजारमा लगानीकर्ताको चाप, नेप्से भने फेरि घट्यो

काठमाडाैं, २९ जेष्ठ । सेयर धितो कर्जा (मार्जिन कर्जा) पछिल्लो एक वर्षमा उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको तथ्यांकअनुसार साउनदेखि बैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४६.०३ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा यस्तो कर्जा ८५ अर्ब ९५ करोड रुपैयाँ मात्र थियो। सस्तो ब्याजदर, सेयर बजारप्रतिको बढ्दो आकर्षण, तथा नीतिगत सहजीकरणले गर्दा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर कर्जा आक्रामक रूपमा वृद्धि भएको हो।
ब्याजदर हाल एकल अंकमा झरेको हुँदा लगानीकर्ताहरू सस्तो कर्जामार्फत सेयर बजारमा सक्रिय देखिएका छन्। राष्ट्र बैंकले सेयर धितो कर्जासम्बन्धी जोखिमभार समानरूपमा १०० प्रतिशत कायम गर्ने नयाँ व्यवस्था लागू गरेपछि बैंकहरूलाई पूँजी पर्याप्तताको हिसाबले थप सहजता मिलेको छ। यसले गर्दा अझ धेरै कर्जा प्रवाह सम्भव भएको हो। ठूला लगानीकर्ताहरू यसमा सबैभन्दा बढी सक्रिय देखिएका छन्। १ करोड रुपैयाँभन्दा माथिको सीमामा मात्रै ६२.३३ प्रतिशत कर्जा वृद्धि भई कूल कर्जा ८५ अर्ब ७३ करोड पुगेको छ। त्यस्तै, ५० लाखदेखि १ करोड सीमाको कर्जा २७.८१ प्रतिशत, २५ लाखदेखि ५० लाख सीमाको कर्जा १८.१९ प्रतिशत, र २५ लाखसम्मको कर्जा ११.१० प्रतिशतले वृद्धि भएको छ।
यता, सेयर बजार भने घट्दो क्रममा देखिएको छ। साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ७.०३ अंकले घटेर २६५७.४४ बिन्दुमा झरेको छ। बुधबार पनि नेप्से १३.२८ अंकले घटेको थियो। यद्यपि कारोबार रकम भने वृद्धि भएको छ। बिहीबार ३११ कम्पनीका २ करोड ८५ लाख कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको हो, जुन अघिल्लो दिनको ९ अर्ब ९० करोडको तुलनामा उल्लेखनीय वृद्धि हो। आज १०१ कम्पनीको सेयर मूल्य बढ्दा १४७ कम्पनीको घटेको छ।