Date

मङ्ल, असार ३, २०८२
Tue, June 17, 2025

नेपाली सडकमा बिजुली गाडीको वर्चस्व: टाटा अग्रस्थानमा, एमजीको शानदार छलाङ

नेपाली सडकमा बिजुली गाडीको वर्चस्व: टाटा अग्रस्थानमा, एमजीको शानदार छलाङ

काठमाडाैं, ३ असार । विगत दुई वर्षयता नेपाली बजारमा विद्युतीय सवारी साधनको आयात र प्रयोगमा उल्लेख्य वृद्धि देखिएको छ, जसले समग्र अटोमोबाइल बजारलाई चलायमान बनाएको छ। लामो समयदेखि स्थापित इन्धन गाडीका ब्राण्ड र मोडललाई पछि पार्दै काठमाडौंका सडकमा ईभीको उपस्थिति ह्वात्तै बढेको छ।

उपभोक्ताको बदलिँदो रोजाइले गाडी आयातको नयाँ तथ्यांकलाई प्रभावित पारेको छ। सन् २०२५ को सुरुदेखि मे महिनाको अन्त्यसम्म, अर्थात् विगत पाँच महिनामा विभिन्न ब्राण्डका कुल ७,०८४ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन्। यस अवधिमा हरेक महिना सरदर १४०० भन्दा बढी ईभी कार भित्रिएको तथ्यांकले देखाउँछ।

टाटाको दबदबा, एमजी दोस्रो लोकप्रिय

सन् २०२५ मा पनि बिजुली गाडीको बजारमा टाटा कम्पनीले आफ्नो अग्रता कायम राखेको छ। विगत पाँच महिनामा टाटाले १५१२ वटा गाडी नेपाल भित्र्याएको छ।

पछिल्लो समय नेपाली बजारमा निकै चर्चामा रहेको बीवाईडीप्रति उपभोक्ताको आकर्षण भने केही घटेको देखिन्छ। यसको सट्टा एमजीका गाडीमा धेरै मानिस आकर्षित भएका छन्। फलस्वरुप, एमजीले यस पाँच महिनामा बीवाईडीभन्दा धेरै गाडी आयात गरी नेपाली बजारको दोस्रो लोकप्रिय ब्राण्ड बनेको छ। एमजीले ११४१ वटा गाडी भित्र्याएको छ भने बीवाईडीले ११०८ वटा गाडी आयात गरेको छ।

यी शीर्ष तीन ब्राण्ड – टाटा, एमजी र बीवाईडी – ले वर्ष २०२५ मा नेपाल भित्रिएका कुल ईभीको ५३ प्रतिशत हिस्सा ओगटेका छन्।

अन्य ब्राण्ड र एसयूभीको बढ्दो माग

शीर्ष तीन बाहेक, चौथो स्थानमा दोङ्फेङको ६६४ वटा गाडी आयात भएको छ। हुण्डाई, चाङ्गान र लीपमोटरका गाडी पनि ३० भन्दा बढी संख्यामा आयात भएका छन्। यसका साथै, काईयी, प्रोटोन, ओमोडा र जीएसीका गाडीहरु पनि थोरै संख्यामा भए पनि नेपाली बजारमा प्रवेश गरेका छन्।

नेपाली उपभोक्ताले सबैभन्दा धेरै एसयूभी मोडलका विद्युतीय गाडीहरु रुचाएको तथ्यांकले देखाएको छ। यहाँको पहाडी भूभाग र सडकको अवस्थाका कारण बलियो, दर्बिलो, उचाइयुक्त र विलासी एसयूभी गाडीहरुको माग उच्च रहेको छ।

कुल आयात भएका ईभीमध्ये आधाभन्दा बढी एसयूभी मोडलका रहेका छन्। यस अवधिमा करिब १ हजार थान प्रिमियम एसयूभी र २६ सयभन्दा बढी अन्य एसयूभी गरी ५३०० भन्दा बढी गाडी एसयूभी मोडलका आएका छन्, जुन कुल ईभी आयातको ५०.३४ प्रतिशत हो। कम्प्याक्ट एसयूभीलाई समेत समावेश गर्ने हो भने एसयूभी र कम्प्याक्ट एसयूभीले कुल ईभी आयातको करिब ७५ प्रतिशत हिस्सा ओगट्छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *