नेप्सेमा भारी गिरावट: बजार २४.५९ अंकले घट्यो, कारोबार रकम भने ११ अर्ब नाघ्यो

काठमाडौं, ५ असार । नेपाली सेयर बजारमा गिरावटको क्रमले निरन्तरता पाएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार पनि बजार परिसूचक उच्च दोहोरो अंकले घटेको छ। मंगलबार र बुधबार सामान्य गिरावट आएको नेप्सेमा आज भने २४.५९ अंकको भारी गिरावट देखिएको हो।
आज बजार परिसूचक २६२९.०८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ। गिरावटसँगै बजारका सबै समूह राताम्य बनेका छन्, जसले लगानीकर्ताहरूमा चिन्ता थपेको छ। यद्यपि, बजार घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ। आज एकैदिन ११ अर्ब २३ करोड १४ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ, जुन पछिल्लो समयको उच्च कारोबारमध्ये एक हो।
साताको अन्तिम कारोबार दिन पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्यमा भने उच्च दरमा वृद्धि भएको छ। बिहीबार कम्पनीको सेयर भाउ ९.९८ प्रतिशतले बढेर ३७०.५० रुपैयाँ कायम भएको छ। आज कम्पनीको सेयर भाउ प्रतिकित्ता ३३.६२ रुपैयाँले बढेको हो। यस्तै, मध्यभोटेकोशीको सेयर भाउ पनि ५.५५ प्रतिशत र शिवश्री हाइड्रोपवारको ४.०४ प्रतिशतले वृद्धि भएको छ। यीसहित आज कुल ४७ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ।
अर्कोतर्फ, बिहीबार तीन कम्पनीको सेयर मूल्यमा उच्च गिरावट देखिएको छ। आज प्योर इनर्जी र रसुवागढी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। प्योर इनर्जीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता १२०.६८ रुपैयाँ घटेको छ भने रसुवागढीको भने प्रतिकित्ता ४.७० रुपैयाँ घटेको छ। यसैगरी, भुगोल इनर्जीको सेयर मूल्य पनि ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ७६.०५ रुपैयाँको गिरावटसहित ६८५ रुपैयाँमा कायम भएको छ। आज यीसहित २०१ कम्पनीको सेयर मूल्य घटेको छ।