Date

सोम, असार ९, २०८२
Mon, June 23, 2025

सुस्ताएको आर्थिक गतिविधि चलायमान हुँदै: निक्षेप र कर्जा प्रवाहमा उल्लेख्य वृद्धि

सुस्ताएको आर्थिक गतिविधि चलायमान हुँदै: निक्षेप र कर्जा प्रवाहमा उल्लेख्य वृद्धि

काठमाडाैं, ९ असार । लामो समयदेखि सुस्ताएको नेपाली अर्थतन्त्रमा अब विस्तारै सकारात्मक संकेत देखिन थालेका छन् । पछिल्लो समय वाणिज्य बैंकहरूमा निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा उल्लेख्य वृद्धि देखिएको छ, जसले आर्थिक गतिविधि चलायमान भएको संकेत गर्दछ ।

केही समयअघिसम्म बैंकहरूमा लगानीयोग्य रकम थुप्रिए पनि कर्जाको माग न्यून थियो । तर, अहिले बजारको चाल फेरिएको छ । निक्षेप संकलन निरन्तर बढ्नुका साथै सोही अनुपातमा कर्जा प्रवाहमा पनि वृद्धि भएको छ, जसले अधिक तरलताको दबाबमा रहेका बैंकहरूलाई राहत मिलेको छ ।

चालु आर्थिक वर्षको ११ महिना (जेठ मसान्तसम्म) मा २० वटा वाणिज्य बैंकहरूको निक्षेप संकलन ५ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँले वृद्धि भएको नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकले देखाएको छ ।

निक्षेप संकलनमा ८.७५ प्रतिशत वृद्धि, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक शीर्ष स्थानमा

गत आर्थिक वर्षको असार मसान्तदेखि यस वर्षको जेठ मसान्तसम्म आइपुग्दा बैंकहरूको कुल निक्षेप ८.७५ प्रतिशतले बढेर ६२ खर्ब ५८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म बैंकहरूसँग ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन भएको थियो ।

अधिकांश बैंकहरूको निक्षेप संकलन बढेको छ भने एनआईसी एशिया बैंकको मात्रै १६.१३ प्रतिशतले घटेको देखिन्छ । निक्षेप बढाउने मामिलामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक शीर्ष स्थानमा रहेको छ । यस बैंकको निक्षेप ६० अर्ब ३७ करोड रुपैयाँ बढेर ४ खर्ब ६७ अर्ब १७ करोड रुपैयाँ कायम भएको छ ।

दोस्रोमा रहेको ग्लोबल आइएमई बैंकको निक्षेप पनि ४९ अर्ब ४० करोड रुपैयाँ बढेर ५ खर्ब ५४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । यस्तै, एनएमबि बैंकको निक्षेप ४९ अर्ब ५२ करोड, एभरेष्टको ४७ अर्ब ५८ करोड, नबिलको ४४ अर्ब ७९ करोड र नेपाल बैंकको ४१ अर्ब ६ करोड रुपैयाँ बढेको छ । यी बैंकहरूको कुल निक्षेप क्रमशः २ खर्ब ७५ अर्ब ६२ करोड, २ खर्ब ८० अर्ब ८७ करोड, ५ खर्ब १३ अर्ब ५५ करोड र ३ खर्ब २४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

अन्य बैंकहरूमध्ये प्राइम बैंकको निक्षेप ३९ अर्ब २९ करोड, राष्ट्रिय वाणिज्य बैंकको ३८ अर्ब ६२ करोड, कृषि विकास बैंकको २६ अर्ब ६६ करोड, लक्ष्मी सनराइजको २४ अर्ब ८१ करोड, सानिमाको २१ अर्ब २९ करोड, नेपाल एसबीआईको १९ अर्ब ३१ करोड, सिद्धार्थको १८ अर्ब ८६ करोड, प्रभुको १८ अर्ब ८६ करोड, माछापुच्छ्रेको १४ अर्ब ५७ करोड, सिटिजनको १३ अर्ब ६८ करोड, स्ट्यान्डर्ड चार्टर्डको १३ अर्ब १० करोड, कुमारीको ११ अर्ब ११ करोड र हिमालयन बैंकको १० अर्ब १८ करोड रुपैयाँले बढेको छ ।

कर्जा प्रवाहमा ८.२३ प्रतिशत वृद्धि, ग्लोबल आइएमई बैंक अग्रस्थानमा

निक्षेप संकलनसँगै कर्जा प्रवाहमा पनि बढोत्तरी देखिएको छ । समीक्षा अवधिमा बैंकहरूले प्रवाह गरेको कुल कर्जा ८.२३ प्रतिशत अर्थात् ३ खर्ब ७६ अर्ब २९ करोड रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकहरूले कुल ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, गत जेठ मसान्तसम्म आइपुग्दा यो आँकडा ४९ खर्ब ४७ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

पछिल्लो समय मुलुकको आयातमा देखिएको बढोत्तरीले पनि बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा सकारात्मक प्रभाव पारेको छ । विशेषगरी सेवा र औद्योगिक क्षेत्रका व्यवसायीहरूले आयातका लागि कर्जा लिँदै गर्दा लामो समयदेखि तरलता व्यवस्थापनमा संघर्ष गरिरहेका बैंकहरूलाई केही सहजता मिलेको छ ।

निर्माण, उद्योग र कृषि क्षेत्रमा समेत कर्जाको माग बिस्तारै बढ्न थालेको छ । बैंकहरूबीच प्रतिस्पर्धी ब्याजदरको वातावरण निर्माण हुँदै जानु र निरन्तर घट्दो ब्याज दरका कारण व्यवसायीहरूलाई कर्जा लिन प्रोत्साहन मिलेको देखिन्छ । यसरी कर्जा मागमा भएको वृद्धिले समग्र बैंकिङ बजारमा आंशिक गति ल्याएको संकेत गर्दछ ।

समीक्षा अवधिमा अधिकांश बैंकको कर्जा प्रवाह बढेको छ । तर, एनआईसी एशिया र कुमारी बैंकको भने क्रमशः ४५ अर्ब ३५ करोड र ५ अर्ब ६९ करोड रुपैयाँले कर्जा घटेको छ । यी बाहेक अन्य सबै बैंकले कर्जा प्रवाह बढाएका छन् ।

कर्जा प्रवाह बढाउने मामलामा ग्लोबल आइएमई बैंक पहिलो सूचीमा छ । समीक्षा अवधिमा बैंकको कर्जा प्रवाह ५१ अर्ब ५ करोड रुपैयाँ वृद्धि भई ४ खर्ब ४१ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । दोस्रो स्थानमा रहेको नबिल बैंकको भने ४० अर्ब ९२ करोड रुपैयाँ वृद्धि भएको छ, जससँगै कुल कर्जा प्रवाह ४ खर्ब २९ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ ।

यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको कर्जा प्रवाह ३८ अर्ब ६८ करोड, एभरेष्टको ३७ अर्ब ९३ करोड, एनएमबिको ३६ अर्ब ९६ करोड, प्राइमको ३२ अर्ब ५७ करोड, लक्ष्मी सनराइजको ३१ अर्ब ५९ करोड, एनआईएमबीको २७ अर्ब ६४ करोड, नेपाल बैंकको २५ अर्ब ९१ करोड, सानिमाको २० अर्ब ९० करोड, सिद्धार्थको १९ अर्ब ७ करोड र माछापुच्छ्रेको १७ अर्ब ४२ करोड रुपैयाँले बढेको छ । यता, नेपाल एसबीआईको ९ अर्ब १८ करोड, कृषि विकास बैंकको ९ अर्ब ५ करोड, हिमालयनको ८ अर्ब १ करोड, स्ट्याण्डर्ड चार्टर्डको १ अर्ब ९० करोड र प्रभुको ५४ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह बढेको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *