नेपाल राष्ट्र बैंकद्वारा थप ५० अर्ब रुपैयाँ निक्षेप संकलन, तरलता व्यवस्थापनमा जोड

काठमाडाैं, ११ असार । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। यसअघि आइतबार ६० अर्ब रुपैयाँ बजारबाट खिचेको केन्द्रीय बैंकले आज (बुधबार) पनि अधिक तरलता व्यवस्थापनका लागि यो कदम चालेको हो।
राष्ट्र बैंकले ६३ दिन अवधिका लागि निक्षेप संकलनको बोलकबोल आह्वान गरेको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्। अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप सङ्कलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ।
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्। यसरी संकलित निक्षेपको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी भदौ ११ गते हुनेछ। बैंक तथा वित्तीय प्रणालीमा देखिएको अधिक तरलतालाई सन्तुलित बनाउन र ब्याजदरमा अनावश्यक गिरावट आउन नदिन राष्ट्र बैंकले बारम्बार निक्षेप संकलन गर्दै आएको छ।