Date

बिहि, असार १२, २०८२
Thu, June 26, 2025

ऊर्जामन्त्री खड्काद्वारा शाङ्घाई सहयोग सङ्गठनको ऊर्जा मन्त्रीस्तरीय बैठकलाई सम्बोधन

ऊर्जामन्त्री खड्काद्वारा शाङ्घाई सहयोग सङ्गठनको ऊर्जा मन्त्रीस्तरीय बैठकलाई सम्बोधन

काठमाडाैं, १२ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शाङ्घाई सहयोग सङ्गठन (SCO) सदस्य राष्ट्रका ऊर्जामन्त्रीहरूको पाँचौँ बैठकलाई सम्बोधन गरेका छन्। चीनको झेजियाङ प्रान्तको निङ्बो शहरमा आज आयोजित बैठकलाई सम्बोधन गर्दै मन्त्री खड्काले एससिओ सदस्य राष्ट्रहरूको जनसङ्ख्या, स्रोतसाधन र सम्भाव्यतालाई ध्यानमा राख्दै लगानी प्रवर्द्धन र ऊर्जा व्यापारका लागि क्षेत्रीय ढाँचा सिर्जना गर्न, सहयोगलाई सुदृढ गर्न र नवीन विचारका साथ यसलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

‘ऊर्जा भविष्यका लागि एकीकृत नवप्रवर्तन’ (Integrated Innovation for Energy Future) भन्ने नाराका साथ आयोजित यस बैठकमा मन्त्री खड्काले ऊर्जा विकास, ग्रिड कनेक्टिभिटी, नवप्रवर्तन र ऊर्जा सुरक्षा प्रवर्द्धनमा एससिओ सदस्य राष्ट्रहरूबीच क्षेत्रीय एकता, सहयोग र सहकार्यको आवश्यकतामाथि जोड दिए। ऊर्जामन्त्रीले सन् २०३५ सम्ममा नेपालले २८,५०० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको र १५,००० मेगावाट बिजुली निर्यात गर्ने योजना तथा कार्यक्रमहरू सुरु गरेको जानकारी बैठकमा दिए।

हाल नेपालमा करिब ३,५०० मेगावाटभन्दा बढी बिजुली उत्पादन भइसकेको र निकट भविष्यमा यसलाई दोब्बर बनाउने योजनाका साथ काम भइरहेको उनले थपे। छिमेकी मुलुकहरूसँग बिजुली व्यापार सुरु भइसकेको बताउँदै ऊर्जामन्त्री खड्काले भारतको ग्रिड प्रयोग गरी बङ्गलादेशमा पहिलो पटक बिजुली निर्यात गरेर त्रिपक्षीय ऊर्जा सहयोग नीतिको कार्यान्वयन सुरु गरिएको स्पष्ट पारे।

एससिओको संवाद साझेदारका रूपमा क्षेत्रीय ऊर्जा सहयोगमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै उनले नेपाल वातावरणीय सन्तुलन, नवप्रवर्तन र दिगो विकासका अवधारणाहरूका साथै आपसी सहकार्य र सहयोगमा आधारित ऊर्जा क्षेत्रको विकास र विस्तारको पक्षमा रहेको स्पष्ट पारे। मन्त्री खड्का यस बैठकमा भाग लिन यही असार १० गते (जुन २४) चीन प्रस्थान गरेका थिए ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *