मेरो माइक्रोफाइनान्सको शाखामा तोडफोड र कर्मचारीमाथि हातपात, लघुवित्त बैंकर संघद्वारा भर्त्सना

काठमाडाैं, २० असार । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ऐन, नियम, कानुन र निर्देशनको परिधिमा रही पब्लिक लिमिटेड कम्पनीको रूपमा सञ्चालित लघुवित्त वित्तीय संस्थाहरूले आम जनताबाटै संकलित ठूलो परिमाणको बचत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जाको रूपमा प्राप्त गरी दुर्गम क्षेत्रमा बसोबास गर्ने लाखौं विपन्न परिवारहरूलाई सरल र सहज तरिकाले घरदैलोमै वित्तीय सेवा प्रदान गर्दै महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।
तर, लघुवित्त वित्तीय संस्थाहरूको यस योगदानको अनादर गरी निहित स्वार्थबाट प्रेरित केही समूहहरूबाट बेलाबेलामा संस्थाका शाखा कार्यालयमा तोडफोड गर्ने तथा कर्मचारीहरूलाई कुटपिट गर्ने लगायतका घटनाहरू भइरहेका छन्।
यसै सन्दर्भमा, २०८२ असार १५ गते आइतबारका दिन मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सितापुर, सिराहास्थित शाखा कार्यालयमा ‘संघर्ष समिति’ को नाममा ५०-६० जना व्यक्तिहरू आई कर्मचारीलाई हातपात गर्दै कार्यालयमा तालाबन्दी गरेका थिए। त्यसपछि २०८२ असार १६ गते नेपाल प्रहरी र सोही वडाका वडाध्यक्षको रोहबरमा ताला फोरी कार्यालय खोलिएको थियो। तर, २०८२ असार १७ गते पुनः करिब २/३ सय जनाको हुलले शाखा कार्यालयमा आई कर्मचारीलाई ज्यान मार्ने धम्की दिँदै ढुङ्गामुढा गरेको, कार्यालयको झ्यालढोकामा लगाइएका सिसा तोडफोड गरेको, शाखाको साइनबोर्ड च्यातेको र सुरक्षार्थ खटिएका प्रहरीहरूलाई समेत ढुङ्गामुढा गरेकाले प्रहरीले १ राउण्ड हवाई फायर र २ वटा अश्रुग्यास प्रहार गरी २ जना पुरुष र ४ जना महिलालाई नियन्त्रणमा लिएको थियो। दुःखको कुरा, २०८२ असार १८ गते प्रहरीले नियन्त्रणमा लिएकाहरूलाई सामान्य सहमति गरी छोडिएको कारण सम्बन्धित शाखा कार्यालयका कर्मचारीहरूलाई नियमित रूपमा काम गर्न अझै त्रासको वातावरण सिर्जना भएको छ।
यस प्रकारका हुलहुज्जत तथा दुर्व्यवहारका घटनाहरूको लघुवित्त वित्तीय संस्थाहरूको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले घोर भर्त्सना गरेको छ। संघले यस्ता अवाञ्छित गतिविधिले ग्राहकहरू तथा विपन्न वर्गले वित्तीय सेवा सहज रूपमा पाउने अधिकारबाट वञ्चित हुन पुगेको र ऐन, कानुनबमोजिम स्थापित संस्थाहरूले कानुनबमोजिम कारोबार गर्ने अधिकारबाट वञ्चित हुन पुगेकोमा खेद प्रकट गरेको छ। वित्तीय संस्थाको कार्यालयभित्र हुने यस्ता किसिमका अराजक गतिविधिहरूलाई तत्काल नियन्त्रण गर्न र दोषीहरूलाई कानुनी दायरामा ल्याउन संघले सम्बन्धित पक्षसँग जोडदार माग गरेको छ।
साथै, अत्यावश्यक सेवाअन्तर्गत रहेको वित्तीय सेवा नियमित रूपमा सञ्चालनमा रहने वातावरणको लागि सहयोग पुर्याइदिन नेपाल सरकार, नेपाल राष्ट्र बैंक, स्थानीय सरकार तथा सम्बन्धित निकायहरूमा हार्दिक अनुरोध गरेको छ।
संघले ग्राहक र संस्थाबीच सुमधुर सम्बन्ध कायम गरी ग्राहक संरक्षणको आधारलाई मुख्य प्राथमिकतामा राखी सेवा प्रवाह गर्न लघुवित्त वित्तीय संस्थाहरू सदैव दृढ रहेको कुरा सम्पूर्ण सरोकारवाला निकायहरू तथा ग्राहकहरूमा जानकारी गराउन चाहेको बताएको छ। यस्ता किसिमका घटनाहरूबाट कत्ति पनि विचलित नभई आगामी दिनमा पनि निरन्तर रूपमा ग्राहक सदस्यहरूलाई अझ उत्कृष्ट सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि संघले व्यक्त गरेको छ।