युनाइटेड सिमेन्टको व्यापारमा साढे २ अर्को फड्को, नाफामा पनि बढोत्तरी

काठमाडाैं, २० असार । नेपाली निर्माण बजारमा सशक्त उपस्थिति जमाउँदै आएको युनाइटेड सिमेन्टले आफ्नो व्यापार विस्तारमा महत्वपूर्ण फड्को मारेको छ। नेपाली सिमेन्ट उद्योगमा कम्पनीले आफ्नो पकड थप मजबुत बनाउँदै गत वर्ष सन् २०२४ मा साढे २ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ।
केएल दुगड ग्रुप अन्तर्गत सञ्चालनमा रहेको यस कम्पनीले अघिल्लो वर्षको तुलनामा ४ प्रतिशत व्यापार वृद्धि गर्न सफल भएको देखिन्छ। पछिल्ला केही वर्षहरूमा कम्पनीको कारोबार स्थिर रूपमा बढ्दै गएको तथ्याङ्कले देखाउँछ। सन् २०२३ मा २ अर्ब ३८ करोड ६० लाख, सन् २०२२ मा २ अर्ब ७ करोड ९० लाख र सन् २०२१ मा २ अर्ब ३४ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।
व्यापारसँगै कम्पनीको नाफामा पनि बढोत्तरी नै देखिएको छ। गत वर्ष सन् २०२४ मा कम्पनीले नाफा ३.३४ प्रतिशतले बढाएको थियो। लगातार सुधार हुँदै आएको मुनाफाको अनुपातले कम्पनीको व्यवस्थापन तथा बजार रणनीति प्रभावकारी रहेको संकेत गर्छ।
सन् २००७ मा स्थापना भएको युनाइटेड सिमेन्टले क्लिंकर उत्पादनदेखि सिमेन्ट ग्रान्डिङसम्मको प्रक्रिया आफ्नै उद्योगमार्फत सञ्चालन गर्दै आएको छ। धादिङको नौबिसेमा अवस्थित यस उद्योगले वार्षिक ३ लाख ३० हजार मेट्रिक टन क्लिंकर र ३ लाख ६६ हजार ३ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ। कम्पनीले दुई ब्राण्डमार्फत उत्पादन बजारमा ल्याउने गरेको छ। ओपीसी सिमेन्ट ‘युनाइटेड’ ब्राण्ड अन्तर्गत र पीपीसी सिमेन्ट ‘राजधानी’ ब्राण्डमार्फत बजारमा आफ्नो बलियो उपस्थिति जनाएको छ।
सन् २०२४ को जुनमा कम्पनीले पब्लिक कम्पनीको रूपमा रूपान्तरण भएसँगै थप विस्तार र पारदर्शिता अभिमुख योजनाहरू अघि बढाएको छ। वर्तमानमा युनाइटेड सिमेन्टमा नरेश दुगड, कुमुदकुमार दुगड र विकास दुगडको समान रूपमा ३३–३३ प्रतिशत स्वामित्व रहेको छ।
साढे ६ अर्बको कर्जा क्षमता: आर्थिक पक्षमा कम्पनीले दीर्घकालीन र अल्पकालीन दुवै प्रकारका कर्जाका लागि कुल ६ अर्ब ४२ करोड ९० लाख रुपैयाँ बराबरको रेटिङ गराइसकेको छ। जसमध्ये ४ अर्ब २२ करोड ९७ लाख दीर्घकालीन र २ अर्ब २० करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि हुने बताइएको छ।
निरन्तर उत्पादन वृद्धि, सुसंगत बजार नीति र पारदर्शी वित्तीय योजनाका साथ युनाइटेड सिमेन्टले नेपाली निर्माण क्षेत्रमा दीगो प्रभाव पार्ने संकेत देखाउन थालेको छ।