Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

जीवन बीमा कम्पनीहरूमा निष्क्रिय बीमालेखको संख्या बढ्दो: ११ महिनामा साढे ३५ अर्ब बढीको बीमालेख नविकरण भएनन्

जीवन बीमा कम्पनीहरूमा निष्क्रिय बीमालेखको संख्या बढ्दो: ११ महिनामा साढे ३५ अर्ब बढीको बीमालेख नविकरण भएनन्

काठमाडाैं, २३ असार । नेपालमा जीवन बीमा कम्पनीहरूमा ‘व्यतित बीमालेख’ (निष्क्रिय बीमालेख) को संख्या बढ्दै गएको देखिएको छ, जसले गर्दा ११ महिनामै साढे ३५ अर्ब रुपैयाँ बराबरका बीमालेख नविकरण हुन सकेका छैनन् । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको जेठ महिनाको ‘बीमा प्रतिबिम्ब’ प्रतिवेदन अनुसार, चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कुल १२ लाख ४३ हजार ७६९ जना बीमितले आफ्नो पोलिसी नविकरण गरेका छैनन् ।

यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.७७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको जेठ मसान्तसम्म ३३ अर्ब ३ करोड २० लाख रुपैयाँ बराबरका ११ लाख ४३ हजार ४७८ वटा बीमालेख निष्क्रिय थिए भने चालु आर्थिक वर्षको सोही अवधिमा व्यतित बीमालेखको रकम १०.५४ प्रतिशतले बढेर ३६ अर्ब ५१ करोड ४७ लाख रुपैयाँ पुगेको छ । अभिकर्ताहरूको निष्क्रियता, ग्राहकसँगको कमजोर सम्पर्क, आर्थिक कठिनाइ र बीमा सरेन्डर (समर्पण) प्रक्रियाबारेको अनभिज्ञता जस्ता कारणहरूले बीमालेख निष्क्रिय हुने दर बढेको विश्लेषण गरिएको छ ।

अधिकांश जीवन बीमा योजना ५ देखि १५ वर्षसम्मका हुने र तोकिएको समयमा शुल्क नबुझाएमा बीमा सुरक्षाको लाभ नपाइने भए पनि बक्यौता तिरेर पुनः सक्रिय बनाउने सुविधा उपलब्ध हुन्छ । तीन वर्षभन्दा पुराना बीमालेखहरू सरेन्डर गरी केही रकम फिर्ता लिने विकल्प भए पनि यसको जानकारी नहुँदा बीमितहरू अन्योलमा पर्ने गरेका छन् । बीमा प्राधिकरणले बीमा कम्पनी र अभिकर्तालाई बीमितहरूसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको देखिन्छ ।

यद्यपि, चालु आर्थिक वर्षको ११ महिनामा बीमा सरेन्डर संख्या १.९७ प्रतिशतले घटेर ९८ हजार ४१ वटामा झरेको छ भने सरेन्डर रकम भने १०.९७ प्रतिशतले बढेर १३ अर्ब ५४ करोड १६ लाख रुपैयाँ पुगेको छ । यो अवस्थाले जीवन बीमा क्षेत्रमा सचेतना र नियमित सम्पर्कको आवश्यकतामा थप जोड दिएको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *