हरित हाइड्रोजनमार्फत ऊर्जा कूटनीति र औद्योगिक रुपान्तरणतर्फ नेपालको नयाँ पाइला

काठमाडाैं, ३१ असार । बढ्दो जलवायु संकटसँग जुझिरहेको विश्वमा स्वच्छ, दिगो र वैकल्पिक ऊर्जा समाधानको खोजी तीव्र गतिमा भइरहेको छ। नेपाल समेत यस विश्वव्यापी चुनौतीबाट अछुतो छैन। यसै सन्दर्भमा, हरित हाइड्रोजन (Green Hydrogen) लाई नेपालको ऊर्जा भविष्यको सम्भावनाको रूपमा लिइँदै “Green Hydrogen in Nepal: Unlocking a Sustainable Energy Future” शीर्षकमा आज ललितपुरमा एक महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भयो।
South Asia Watch on Trade, Economics and Environment (SAWTEE) र WTO Chairs Programme–Nepal, Kathmandu University School of Management (KUSOM) को संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपालमा हरित हाइड्रोजनको सम्भावना, नीति संरचना, चुनौती र भावी योजना सम्बन्धमा विविध पक्षबाट गहिरो विचार–विमर्श गरियो।
कार्यक्रममा SAWTEE का वरिष्ठ अनुसन्धानकर्ता मदन मरासिनीले प्रस्तुति दिँदै भने, “ऊर्जा अब केवल स्रोत होइन, यो अन्तर्राष्ट्रिय व्यापार र कूटनीतिको शक्तिशाली उपकरण बनिसकेको छ।” उनले ऊर्जा कूटनीति सुदृढ बनाउन अन्तरदेशीय समन्वयको आवश्यकता औंल्याए।
काठमाण्डौं विश्वविद्यालय अन्तर्गतको Green Hydrogen Lab का टोली प्रमुख डा. बिराजसिंह थापाले भने, “यो ऊर्जा संक्रमणमा नेपाल अहिले विश्वका अन्य विकसित र विकासोन्मुख राष्ट्रहरूसँग समानान्तर प्रगति गरिरहेको छ।” उनले अनुसन्धान, जनशक्ति विकास र प्रविधिमा नेपालले सकारात्मक पाइलाहरू चालिसकेको बताए।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) का कार्यकारी निर्देशक नवराज ढकालले हरित हाइड्रोजनलाई राष्ट्रिय योगदान प्रतिबद्धता (NDC) 3.0 र हालैको बजेट मा समावेश गरिएकाले यसलाई कार्यान्वयनमा लैजान नीति, निजी क्षेत्र र शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको बताए।
वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले भारत र चीनका विश्वविद्यालयहरूसँग शैक्षिक सहकार्यलाई बढाउँदै अनुसन्धान र ज्ञान प्रवाहमा ध्यान केन्द्रित गर्नु पर्ने धारणा राखे।
स्वतन्त्र विद्युत उत्पादक संघ नेपाल (IPPAN) की कार्यकारिणी सदस्य सुमन जोशीले हरित हाइड्रोजन प्रवर्द्धनका लागि सरकारद्वारा ब्याकवर्ड र फारवर्ड लिंकजमा अनुदान नीति ल्याउनुपर्ने सुझाव दिइन्।
जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव सन्दीपकुमार देवले भने, “हरित हाइड्रोजनप्रति जनविश्वास निर्माण गर्न पाइलट प्रोजेक्टहरूबाट काम देखाउनु जरूरी छ।”
काठमाण्डौं विश्वविद्यालयका कुलपति प्रा. डा. अच्युत वाग्लेले विश्वविद्यालयले आवश्यक मानव संसाधन र प्रविधि विकासमा निजी क्षेत्र, नगरपालिका तथा युटिलिटी कम्पनीहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको समापन गर्दै SAWTEE का चेयर एमेरिटस डा. पोषराज पाण्डेले भने, “नेपालमा हरित हाइड्रोजनको आपूर्ति र मागको यथार्थ विश्लेषण अत्यावश्यक छ। साथै, हाइड्रोजन लिकेजसम्बन्धी जोखिमबारे पनि सचेत रहँदै दिगो इकोसिस्टम निर्माण गर्नुपर्छ।”
कार्यक्रममा नीतिनिर्माता, शैक्षिक क्षेत्रका प्रतिनिधि, पत्रकार, ऊर्जा विज्ञ, उद्योग क्षेत्रका सरोकारवाला र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नेपालमा हाल ३,००० मेगावाट जलविद्युत उत्पादन हुँदै आएको छ र आगामी दशकमा २८,५०० मेगावाट पुर्याउने लक्ष्यसहित रु ४६.५ अर्ब अमेरिकी डलर बराबरको लगानी योजना तय गरिएको छ। यसै अतिरिक्त विद्युत प्रयोग गरी हरित हाइड्रोजन उत्पादनलाई एक नयाँ ऊर्जा सम्भावना बनाउने दिशातर्फ नेपालले महत्वपूर्ण पाइला चालेको छ।