Date

बुध, भदौ १८, २०८२
Wed, September 3, 2025

कोरला नाका सञ्चालनको तयारी तीव्र : प्रधानमन्त्री ओलीले पूर्वाधार निर्माणलाई दिए प्राथमिकता

कोरला नाका सञ्चालनको तयारी तीव्र : प्रधानमन्त्री ओलीले पूर्वाधार निर्माणलाई दिए प्राथमिकता

काठमाडाैं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्ताङस्थित कोरला नाका सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माणको काम तीव्र रूपमा अघि बढाइरहेको बताएका छन्। सोमबार राति बालुवाटारस्थित प्रधानमन्त्री निवासमा संघीय सांसद र स्थानीय जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री ओलीले कोरला नाकाको पूर्ण सञ्चालनका लागि सरकार गम्भीर रहेको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले आफैले कागबेनी–कोरला सडक निर्माणको सुरुआत, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमण सहज बनाउने पहल, मुक्तिनाथ केबलकार सञ्चालन प्रक्रिया अगाडि बढाउने, स्याउ सुपरजोनको विकास, तथा पहाडी खसी पालनको प्रवर्द्धन गरेका कुरा स्मरण गराए।

छलफलमा सहभागी प्रतिनिधिमण्डलले लोमान्थाङ र लो-घेकर दमादारकुण्ड प्रवेश गर्ने विदेशी पर्यटकहरूबाट लिइँदै आएको प्रतिव्यक्ति ५ सय अमेरिकी डलरको रॉयल्टी शुल्कलाई पुनःविचार गर्न आग्रह गरे। उनीहरूका अनुसार उक्त शुल्कका कारण पर्यटकको आगमनमा तीव्र गिरावट आएको छ।

त्यस्तै, कालीगण्डकी करिडोर अन्तर्गत पर्ने ९७ किलोमिटर कागबेनी–कोरला सडक खण्ड कालोपत्रे गर्न, साथै कोरला नाकालाई पूर्ण सञ्चालनमा ल्याउन भन्सार, अध्यागमन, एकीकृत सुरक्षा चौकी, सुक्खा बन्दरगाह (ड्राइपोर्ट) लगायत आवश्यक व्यापारिक पूर्वाधार निर्माणको माग समेत राखिएको थियो।

स्थानीय जनप्रतिनिधिहरूले अपूरो सडक पहुँच, प्रतिबन्धित क्षेत्रका नियमहरूको कारण माथिल्लो मुस्ताङका होटल तथा व्यवसायहरूमा नोक्सानी भइरहेको गुनासो पोखेका थिए।

प्रतिनिधिमण्डलमा संघीय सांसद योगेन्द्र गौचन ठकाली, लोमान्थाङ गाउँपालिका अध्यक्ष तासी न्हृवु गुरुङ, लोप्साङ छोम्पेल विष्ट लगायत अन्य प्रतिनिधिहरू सहभागी थिए।

हालसम्म कागबेनी–कोरला सडक खण्डमा ९७ किलोमिटर सडक कालोपत्रेको ठेक्का प्रक्रिया अधुरो रहेको छ भने, तातोपानी खोला, डाना खोला, पाण्डा खोला र टाङ्बे खोलामा निर्माणाधीन पुलहरू ठेक्का रद्द भएपछि काम अवरुद्ध भएको र ती कार्यहरू यथाशीघ्र पुनः सुरु गर्नुपर्ने अवस्था रहेको पनि छलफलमा उल्लेख गरिएको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *