पुटिनप्रति ट्रम्पको गहिरो निराशा: “अहिलेसम्म निराश छु, तर सम्बन्ध अन्त्य भएको छैन”

काठमाडाैं, ३२ असार ।अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन्। बीबीसीलाई दिएको एक विशेष अन्तर्वार्तामा ट्रम्पले पुटिनप्रति “निराश छु, तर सम्बन्ध समाप्त भएको छैन” भनेर स्पष्ट संकेत गरेका छन् कि युक्रेन युद्धका कारण दुबै नेताबीचको सम्बन्धमा तनाव जारी छ।
बीबीसी पत्रकार ग्यारीसँगको २० मिनेट लामो फोन अन्तर्वार्तामा ट्रम्पले सोधिएको ‘के तपाईं अझै पुटिनमाथि विश्वास गर्नुहुन्छ?’ भन्ने प्रश्नमा प्रतिकृया दिँदै भने, “म प्रायः कसैमा विश्वास गर्दिन,” जसले दुबै नेताबीचको विश्वास संकट झल्काउँछ।
यो टिप्पणी उनले युक्रेनलाई हतियार सहायता दिने योजना र यदि आगामी ५० दिनभित्र युद्धविराम नभएमा रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनीसँगै दिएका हुन्। ओभल अफिसबाट बोलेका ट्रम्पले भने, “हामी सैन्य र आर्थिक दबाब कायम राख्नेछौं, जबसम्म शान्ति प्रक्रिया अगाडि बढ्दैन।”
यो अन्तर्वार्तामा ट्रम्पले नाटोप्रति आफ्नो धारणा परिवर्तन भएको समेत जनाए। विगतमा “obsolete” अर्थात् अप्रासंगिक भनेको नाटोप्रति अहिले समर्थन जनाउँदै ट्रम्पले भने, “पारस्परिक सुरक्षा प्रतिवद्धता हामीले पूरा गर्छौं।” केही दिनअघि नाटोका महासचिव मार्क रुट्टेसँगको भेटपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
अन्तर्वार्ताको केन्द्रविन्दु भने पुटिनप्रति ट्रम्पको निराशा थियो। उनले चारपटक युक्रेन युद्ध समाधानको सम्भावना देखिएको तर हरेकचोटि पुटिनले आक्रमण जारी राखेर आफूलाई धोका दिएको बताए। ट्रम्पले भने, “म निराश छु, तर पुटिनसँगको प्रयास अझै जारी छ।”
उनले किभमा भएको बमबारीलगायत हालसालै युक्रेनी शहरहरूमा भएको रूसी आक्रमणलाई उल्लेख गर्दै भने, “कहिलेकाहीँ लाग्छ, हामी शान्तिको नजिक पुगेका थियौँ, तर फेरि बमबारी सुरु हुन्छ।” पछिल्लो केही हप्तामा रुसले युक्रेनका सहरहरूमा आक्रमण तीव्र पारेको र सर्वसाधारणको मृत्युदर बढेको ट्रम्पले स्मरण गरे।
यसै अन्तरवार्ताको अवसरमा पेनसिल्भानियाको बटलरमा भएको चुनावी र्यालीमा ट्रम्पमाथि गरिएको हत्या प्रयासको वार्षिकोत्सवसमेत थियो। सो विषयमा प्रश्न गर्दा ट्रम्पले भने, “मैले त्यो विषयमा धेरै सोच्न चाहन्न, त्यसले जीवन परिवर्तन गरिदिन्छ।”
यता, राष्ट्रपति पुटिनले भने आफू शान्ति चाहने दाबी गर्दै आएका छन्। तर उनले नाटो, युक्रेन र पश्चिमेली शक्तिहरूमाथि नै यो युद्धको “मूल कारण” भएको आरोप लगाउँदै आएका छन्।
सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण आक्रमण आरम्भ गरेसँगै सुरु भएको यो युद्ध हाल हिंसात्मक र दीर्घकालीन चरणमा प्रवेश गरिसकेको छ।